म्याग्दीको बेनी नगरपालिका–४, प्राकृतिक उपचार केन्द्र तातोपानीमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय उपाध्यक्ष तथा म्याग्दीका सफल व्यवसायी प्रमोद श्रेष्ठले निर्माण सुरु गरेको श्रेष्ठ होटल हटस्पिरिङ मंगलबारदेखि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला गरिएको छ ।

विसं २०७५ मङ्सिरबाट निर्माण सुरू गरिएको होटल कोरोना भाइरसको संक्रमणका कारण समयमै सम्पन्न हुन सकेको थिएन् । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने आउने भिआइपी र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल सञ्चालन गरेको सञ्चालक श्रेष्ठले बताए । करिब १५ करोड लागतमा साँढे दुई रोपनी क्षेत्रफलमा होटलको भवन लगायत पर्यटकका आवश्यक पर्ने सुविधा रहेको छ । हेलिप्याडको समेत सुविधा रहेको होटलमा अति भिआइपीले प्रयोग गर्ने डबल कोठा लक्जरी सहित आन्तरिक रुपमा घुम्न आउने पर्यटकले समेत प्रयोग गर्न मिल्ने गरी ३६ कोठा रहेको सञ्चालक श्रेष्ठको भनाई छ ।

‘म्याग्दी जिल्लामा सुविधासम्पन्न होटल छ भन्ने सन्देश प्रवाह हुन्छ,‘हामीले पर्यटकलाई आर्कषित गर्ने थप प्याकेजहरू पनि ल्याउँछौ’ श्रेष्ठले भन्नुभयो । म्याग्दी नदी आसपास, हरियालीयुक्त शान्त र मनोरम वातावरण रहेको होटल पूर्णरुपमा स्वच्छ र सुरक्षित रहेको छ । होटलको संरचना म्याग्दीका साथै साविकको धौलागिरी अञ्चल भित्रका चार जिल्लामा सुविधासम्पन्न होटलभित्र पर्ने गरी संरचना तयार गरिएको छ ।

तातोपानी कुण्डमा प्राकृतिक चिकित्सालयको स्थापना भएसँगै पछिल्लो समय भिआईपीको समेत रोजाईमा परेपनि सुविधासम्पन्न होटलको अभाव रहेको थियो । होटल सञ्चालनमा आएपछि तातोपानी कुण्ड आउने आन्तरिक तथा पश्चिम म्याग्दी हुदै ढोरपाटन, रुकुम जिल्ला लगायतलाई जोड्ने पदमार्गमा घुम्ने विदेशी पर्यटकको आवश्यकता समेत सहज हुने म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले बताए ।

म्याग्दीबाट निजी क्षेत्रको संंस्था नेपाल उद्योग वाणिज्य महासंघमा लामो समय प्रतिनिधित्व गरेका श्रेष्ठको जलविद्युत सहित अन्य ब्यवसायमा करोडौ लगानी गरेपनि पर्यटन ब्यवसायमा पहिलो लगानी हो ।

Leave a Reply