म्याग्दीको सदरमुकाम बेनीमा सयौंबर्ष अगाडीका कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेका नेवार समुदायको संस्था नेपाल भाषा मंकाःखल म्याग्दीले चन्दा संकलन गरी सभाहल निर्माण गरेको छ । बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ ।

नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो । ३५ लाख रुपैयाँ चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म सरकारी सहयोग मागिएको छैन् । नेवार समुदायले विभिन्न समयमा आफ्नो परिवारमा परेको समस्या समाधानका लागि भगवानलाई संकल्प गरेकोमा मनोकामना पुरा भएपछि सभाहलमा सहयोग समेत गरेको संस्थाले जनाएको छ ।

हाल संस्थाका पदाधिकारी र सदस्यबाट जुटाएको रकमले भवन बनाइएको जनाइएको छ । झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । रंगरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । बेनी बजारमा सभा समारोह, भोजभतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महसुस गरी सभाहल बनाएको ज्ञानेन्द्र श्रेष्ठले बताए ।

सभाहल निर्माणका लागि स्वर्गीय चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्वर्गीय काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएको थियो । यसमा थप २० आना जग्गा खरिद गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा मानवबस्तीको विस्तारसँगै नेवार समुदायले तत्कालिन समयमा प्रस्तुत हुने कला र संस्कृतिको जर्गेना गर्ने गरी बर्खे नाच सहितका विभिन्न कार्यक्रम समेत गर्ने गरेका छन् ।

Leave a Reply