म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो ।

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा खासगरी स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

टोड्केमा स्थानीयवासिन्दाले सामूहिक लगानीमा सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि पछिल्लो समय पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् । पर्यटकीय क्षेत्र टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा आधुनिक सुविधासम्पन्न सामुदायिक रिसोर्ट सञ्चालन गरेपछि विगतको तुलनामा भन्दा पछिल्लोपटक टोड्के भ्रमण गर्ने पर्यटकको आगमनमा वृद्धि हुँदै गएको जनाइएको छ ।

टोड्केको भ्रमण गर्नका लागि म्याग्दीसहित बागलुङ, पर्वत, पोखरा, काठमाडौंलगायत जिल्लाबाट स्वदेशी पर्यटकहरु पुग्ने गरेका छन् । कोरोना भाइरस र लकडाउनका कारण विदेशी पर्यटकहरु नआए पनि अहिले स्वदेशी पर्यटकको चहलपहल बढेको रिसोर्टका सञ्चालक मोहन खत्रीले बताउनुभयो । टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरुलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

विगतमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमण गर्न विदेशी मुलुकहरु जर्मन, जापान, ईटाली, अमेरिका र भारतबाट पर्यटकहरु पुग्ने गरेका थिए । तर यसपटक अझै कोरोनाको जोमिख तथा सहज आवतजावत हुन नसक्दा विदेशी पर्यटकहरु भने पुग्न सकेका छैनन् । व्यस्त जीवनको तनावबाट मुक्त हुन, मनोरञ्जन लिन र डाँडाकाँडासहित हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन तथा भ्रमण गर्न पर्यटकहरु टोड्के जाने गर्दछन् ।

टोड्केमा प्रालिमार्फत निर्माण गरिएको सामुदायिक रिसोर्टमा ९ जना संस्थापकसहित ३३ जनाले साढे तीन करोड रुपैयाँ भन्दाबढी लगानी गरेका छन् । अहिले पर्यटकलाई लक्षित गरेर प्रालिद्वारा टोड्केमा हाइअल्टिच्युड प्ले–ग्राउण्ड, बनस्पति उद्यान केन्द्र, हरियाली पार्क निर्माण तथा कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । प्रालिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि कृषि, जडिबुटी, पशुपालन, शिक्षा र स्वास्थ्यलाई जोड दिइएको प्रालिका सञ्चालक भीम शेरचनले बताउनुभयो ।

पर्यटकलाई लक्षित गरेर बनाइएको सामुदायिक रिसोर्टमा एट्याच बाथरुमसहित ११ ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, रेष्टुरेण्ट तथा बार, १० वटा टेन्ट हाउससहित झण्डै १ सय जनाको क्षमता रहेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्णगाउँ र बेनी–घतान–पात्लेखेत–झीँ तथा बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्णगाउँ भएर टोड्के पुगेर रमाउन सकिन्छ । पर्यटकीय क्षेत्र टोड्केको भ्रमण गर्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको स्वदेशी पर्यटक मिनप्रसाद रेग्मीले अनुभव सुनाउनुभयो ।

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि सजिलै पुग्न सकिने पर्यटकीय क्षेत्र टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी, दशौं अग्लो अन्नपूर्ण तथा निलगिरी, माछापुच्छ«े, मानापाथी, गूर्जालगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । म्याग्दीको अधिकांश भू–भागसहित मुस्ताङ, बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिने टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकको मनै लोभ्याउँछ ।

Leave a Reply