मुस्ताङ हिमपहिरोः खस्ने अवस्थाका ढिस्को देखिएपछि झनै त्रास

0

सन्तोष पोखरेल\मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित टुकुचे पिक (६९२० मिटर) को केही खण्ड आइतबार मध्यान्हतिर एकाएक खस्यो। ६ हजार मिटर माथिबाट खसेको अनुमान गरिएको भीषण हिमपहिरोले हिमाली जिल्लामा त्रास निम्त्याएको छ। हिमपहिरो खसेको ठाउँको अवस्था हेर्दा अझै जोखिम निम्तिनसक्ने स्थानीयको अनुमान छ।

पहिरो झरेको ठाउँमा तलबाट हेर्दा खस्ने अवस्थाको ढिस्को र चिरिएको भाग देखिएको स्थानीयले बताएका छन्। थासाङ–२ का अध्यक्ष नरप्रसाद हिराचनका अनुसार आइतबारको हिमपहिरोमा हराएका चौरी खोज्न पुगेका गाउँलेले माथितिर हेर्दा चर्केको र खस्ने अवस्थाको ढिस्को देखेको बताए। बाइनाकुलरबाट हेर्दा पनि पहिरो झरेको ठाउँमा खस्ने अवस्थाको ढिस्को देखिएको उनले बताए।

‘चौरी खोज्न गएका गाउँलेले माथि फर्केर हेर्दा खस्ने अवस्थाको ढिस्को देखेछन्। जमिन नै चिरा परेको देखिएको बताएका छन। हामीले बाइनाकुलरबाट हेर्दा पनि त्यस्तै देख्यौ,’ हिराचनले भने, ‘जोखिमपूर्ण त्यो भाग पक्कै खस्छ। तर, कुनबेला खस्छ भन्न सकिन्न।’ आइतबारको हिमपहिरो र त्यसपछि देखिएको जोखिमपूर्ण अवस्थाका ढिस्कोले झनै त्रास थपेको उनले बताए। ‘आइतबारको त्रास निकै नै थियो। घरै छाडेर निस्कनु नपरेपनि राती गाउँले मस्त निदाउन सकेनन,’ उनले भने।

अमरसिंह माविका प्रअ खिमबहादुर गुरुङका अनुुसार पछिल्लो ६ दशक अवधिमा यत्ति ठुलो हिमपहिरो स्थानीयले कहिल्यै देखेको थिएनन्। ‘हिमाली क्षेत्रमा आगामि दिनमा यस्ता हिमपहिरोको चुनौती धेरै छन्। यो बारेमा अध्ययन हुन जरुरी छ,’ गुरुङले भने, ‘६ दशकसम्म पनि यहाँका स्थानीयले यस्तो देख्नुपरेको थिएन । तर, अब हिमपहिरोको जोखिम बढिरहेको हामीले मात्र नभई विश्वले नै भनिरहेको छ। हिमाली क्षेत्र मुनिका बस्तीलाई अब सुरक्षित स्थानमा सार्नुको विकल्प छैन।’ आइतबारको पहिरोमा भागदौड हुँदा विद्यार्थी र शिक्षक घाइते भएपछि सोमबार विद्यालयमा पठनपाठन पनि बन्द गरिएको थियो।

उनका अनुसार आइतबारको पहिरोको नजिक चारवटा बस्ती थिए । लार्जुङ, कोबाङ, नाउरीकोट र बोक्सीखोला त्यहाँका बस्ती हुन्। ती बस्तीसँगै विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकी, स्थानीयको बसोबास र खेतीयोग्य जग्गा रहेको छ। ‘झन्डै पहिरो बीचबाट बाँडियो र हो, नत्र एकत्रित भएर खसेको भए बस्ती नै सखाप हुन्थ्यो,’ उनले भने।

उनका अनुसार कात्तिक पहिलो साता वर्षा हुँदा हिमाली क्षेत्रमा चिसो बढेको थियो। माथिल्लो क्षेत्रमा त हिउँ नै परेको थियो। त्यो बेला हिउँ थुप्रिएको र अहिले घाम लाग्दा पग्लेको र त्यो सँगै पहिरो खसेको हुनसक्ने उनको अनुमान छ। ‘६–७ दिन भयो, दिनमा चरक्क घाम लाग्ने गरेको छ। त्यसले गर्दा पनि हिउँ पग्लिएर पहिरो निम्तिएको हाम्रो अनुमान हो,’ उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीका अनुसार सिरान क्षेत्रबाट खसेको पहिरो तल खस्ने क्रममा अर्काे डाँडामा बजारिँदा दुईतिर बाँडिएको थियो। त्यसले गर्दा पनि तल्लो भेगमा क्षति कम भएको हो। पहिरोको सबैभन्दा नजिक करिब २७ सय मिटर उचाईमा नाउरीकोटको बस्ती छ। त्यस्तै २६ सय ६० मिटर उचाईमा कोवाङ बस्ती पर्छ। उनका अनुसार पहिरो बीचको पहाडमा बजारिँदा बाडिएर लार्जुङ र बोक्सीखोलातिर झरेको थियो।

भूगर्वविद् श्रीकमल द्विवेदी सबैभन्दा भिरालो भागबाट पहिरो झरेकोले अब आइतबार आएको आकारको पहिरो झर्ने सम्भावना कम रहेको बताउँछन्। ‘आईतबारको जत्रो पहिरो अब तत्काल नआउला भन्ने अनुमान हो, तर, यकिन भने गर्न सकिन्न,’ द्विवेदी भन्छन, ‘सचेत भने हुनुपर्छ। पहिरो खसेको ठाउँको ढुंगा कमजोर भएकोले बगेकोले अब त्यही आकारमा पहिरो नआउने अनुमान मात्र हो, तर, ठयाक्कै पहिरो आउँदैन नै भन्न सकिन्न। सिरान क्षेत्रमा कति मात्रामा हिउँ जमेको छ भन्नेमा पनि भर पर्छ।’

जलवायु परिवर्तनको असर भोगेको विषयलाई कमजोर आँकलन गर्दा आगामि दिनमा यस्ता घटना दोहोरिन सम्भावना रहेको उनको भनाई छ। ‘उच्च हिमाली क्षेत्रमा भोलिको ठुलो क्षतिको निकटमा हामी छौ।  उच्च हिमाली क्षेत्रको यो असर देखिन थालेको छ,’ द्विवेदी भन्छन, ‘अहिलेसम्म यो जोखिमबारे कतै सुनुवाई हुने गरेको छैन। बल्ल अहिले यसबारे आवाज सुनिन थालेको छ।’ हिमाली जिल्लाको माथिल्लो भेगमा हिमपहिरोको जोखिम बढेको बारे कुरा उठान गर्दा सुन्ने निकाय कम हुँदा पनि क्षतिको त्रास रहेको उनले बताए।  Source: nagariknews.com

Leave a Reply