नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनको मनोनयन दर्तादर्ताको अघिल्लो दिन सामाजिक सञ्जालमार्फत धमाधम उम्मेदवारी घोषणा भइरहेको छ। अधिवेशनका सबै पालिका र जिल्ला बाहिरबाट आएका नेता तथा कार्यकर्ताले सहमति र सहकार्यका लागी प्रयास गरेपनि महाधिवेशन प्रतिनिधि, पदाधिकारीदेखि कार्यसमितिका सदस्यमा आकांक्षीहरूको संख्या अत्यधिक देखिएको छ ।

उम्मेदवारले धमाधम आफ्नो सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गर्न थालेपछि मनोनयन दर्तापछि पनि सबैजसो पदमा सर्वसम्मतका लागि दवाव दिइरहेकाहरुको चाहना असफल हुने देखिएको छ ।

मंगलबारसाँझसम्म जिल्ला सभापतिमा वर्तमान पार्टी सभापति खमबहादुर गर्बुजा,उपसभापतिमा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी ‘केबी’ र कमल छन्त्यालले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै सचिवमा भरत रकाल, हिरा पुनले आफ्नो तयारीलाई तिब्रता दिएका छन् ।

सहसचिव सहितका अन्य उम्मेवारीका लागी छलफल भएपनि पदाधिकारीमै आवश्यकता भन्दा तीन गुणा उम्मेदवारी मनोनयन दर्ता हुने अवस्था देखिएको छ । सभापतिमा १, उपसभापति २, सचिव २ र सहसचिव २ जना गरी ७ जना पदाधिकारी बाहेक कोषाध्यक्ष मनोनित गरिने छ ।

त्यस्तै कार्यसमिति सदस्यतर्फ ५ गाउँपालिकाबाट १ महिला सहित १० जना, बेनी नगरपालिका १ महिला र २ पुरुषले उम्मेदवारी दिन पाउनेछन् । अधिवेशनमा पार्टी सभापति गर्बुजा र निर्वतमान सभापति रेशमबहादुर बानियाँको समुहबाट मनोनयन दर्ता गर्ने भएकाले उम्मेदवारको संख्या धेरै हुने अनुमान गरिएको छ ।

महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि बन्न खुलातर्फ सहित आरक्षण र समावेशितर्फ समेत आवश्यकभन्दा धेरै उम्मेदवारी पर्ने संकेत देखिएको छ । मंगलबारसम्म उम्मेदवारी दिनेमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि रहेका छन् । जिल्लाबाट महाधिवेशनका लागि खुल्लातर्फ ४ महिना सहित १४ जना, आरक्षण १० र समावेशीतर्फ १ जना गरी २५ जनाले प्रतिनिधित्व गर्ने भएपनि उम्मेदवारको संख्या ७५ भन्दा बढी नाग्ने अनुमान गरिएको छ ।

त्यस्तै केन्द्रमा आफ्ना निकटका नेताहरूलाई सघाउने र पहुँच बिस्तार गर्न महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा नै चलेको छ। आवश्यक संख्या भन्दा धेरैले मनोनयन दर्ताको अवस्था भएकाले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट हुन नसक्ने अवस्था रहेको एक नेताले बेनीअनलाइनलाई बताए ।

‘पदाधिकारी मै सहमति हुनसक्ने अवस्था अझै बलियो भएपनि महाधिवेशन प्रतिनिधिमा सहमतिको सम्भावना कमजोर बनेको छ,‘महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतका लागि उम्मेदवारले मतका लागि विभिन्न माध्यमको प्रयोग गरेका छन् ।

बुधबार दिउँसो २ बजेदेखि मनोनयन दर्ता गरिने भएकाले सहमतिका लागि यूवा नेताहरूले सक्रियता देखाएका छन् । मनोनयन दर्तापछि विभिन्न चरणमा उम्मेदवारहरूसँग वार्ता गरी सहमतिको प्रयास जारी राखिने दुबै समुहका नेताहरूको भनाई छ । अधिवेशनमा जिल्लाभरबाट ७ सय ५० प्रतिनिधिबाट उम्मेदवारको छिनोफानो हुने छ ।

Leave a Reply