राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचन मार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले म्याग्दीका सबै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ ।

अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका काम पुरा भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले केन्द्रिय कार्यक्रम अनुसार एकै दिन वडा अधिबेशन गर्ने तयारी सहित नेताहरु भूगोलमा केन्द्रित भएको जानकारी दिनुभयो ।

मंगला गाउँपालिकाको १, २ र ३, बेनीको ३, धवलागिरीको २ र मालिकाको २ नम्बर वडाको अधिबेशन सकिएको छ । बाँकी ३९ वटा वडामा शनिबार माओवादीले वडा अधिबेशन गर्दैछ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन्।

भरसक सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने र सहमति नबन्ने स्थितिमा मात्र मतदानबाट कमिटी निर्वाचित हुने नेताहरुले बताएका छन् । “टोल र सेल कमिटीको भेलाहरु यसअघि नै सम्पन्न भइसकेका छन्, अहिले वडा तहको अधिवेशनमा पार्टी केन्द्रित छ”, वडा अधिबेशन गराउन बेनपा–५ पुलाचौर पुगेका माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले भन्नुभया ,“सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको छ ।”

सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने नेताहरुलेब बताएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् ।

संयोजक जुग्जालीका अनुसार म्याग्दीमा माओवादीको सङ्गठित सदस्यको संख्या तीन हजार पुगेको छ । पार्टीको साधारण सदस्यता पछि वितरण गरिने जनाइएको छ । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

Leave a Reply