म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो। सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ ।

गएकाे वर्ष जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला–५, अर्मन र मालिका–७, बिम गाउँमा लगाइएको सुन्तला खेतीमा औँसा किरा लागेको थियो ।

गएको वर्ष औँसा किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत प्रोटिन बेस (खाद्यपासो) थापेर औँसा नियन्त्रण गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा बढ्दै गएको छ ।

सुन्तलामा औँसा किरा लागेपछि बिस्तारै बोट सुक्दै जाने, दाना चाउरी पर्ने, समय नपुग्दै पहेँलो हुने तथा नपाक्दै झर्ने जस्ता समस्या देखिएको किसानहरुले बताएका छन् । यसपटक अन्नपूर्णको दोसल्लेमा व्यावसायिक सुन्तला खेतीमा औँसा किराको प्रकोप धेरै देखिएको छ । दोसल्लेका अधिकांश किसानको बगैँचामा लगाइएको सुन्तलामा औँसा किराको प्रकोप देखिएको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल कृषक समूहका अध्यक्ष प्रेमबहादुर पाइजा पुनले जानकारी दिनुभयो ।

दोसल्लेको व्यावसायिक सुन्तलामा औँसा किराको प्रकोप देखिएपछि यसको नियन्त्रण गर्नका लागि कृषकहरुलाई सुन्तलाको बगैँचामा नै पुगेर स्थलगत तालिम दिनुका साथै दाना सङ्कलन गर्न प्लाष्टिक सहयोग गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

किसानहरुलाई औँसा किरा नियन्त्रणसम्बन्धी तालिम तथा झरेका दाना एकीकृत गरेर प्लाष्टिकमा सङ्कलन गरी औँसा किरालाई नष्ट गर्न र अन्य फलफूलमा प्रकोप फैलन नदिन कार्यालयबाट आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराइएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले जुनार, निबुवा र कागतीपछि सुन्तलामा औँसा किरा लाग्ने गरेको बताउँदै उहाँले औँसा किराको उचित तरिकाले व्यवस्थापन गर्न सकेमा प्रकोप नियन्त्रणमा आउने बताउनुभयो । औँसा किरा खासगरी जुनार खेतीमा सबैभन्दा बढी देखिने हुँदा जुनार, मौसमलगायत फलफूल नपाएपछि सुन्तलामा देखिने गरेको उहाँले जानकारी दिनुभएको छ ।

सुन्तलामा फूल खेलेपछि केराउको जत्रो दाना लागेको चैत, वैशाखको समयमा हर्मनका कारणले दाना झर्ने गर्दछ । यस्तै असार, साउनमा पतेरो किराले रस चुसेर दाना झार्ने र कात्तिक, मंसिरको समयमा सुन्तला टिपेर बजार पठाउने समयमा औँसा किराको प्रकोप देखिने गरेको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत निर्मला केसीले बताउनुभयो ।

म्याग्दीको अन्नपूर्णमा रहेकाे दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल कृषक समूहमा मात्रै ५६ घरधुरी आबद्ध रहेकोमा एक जना कृषकको बगैँचामा मात्रै न्यूनतम २०/२५ देखि ५ सयवटा सम्म सुन्तलाका बोटहरु रहेका छन् । चालु आर्थिक वर्षमा दोसल्ले गाउँमा फल दिने र नदिने गरी कुल ६ हजार ९ सय ८१ वटा सुन्तलाका बोटहरु छन् । व्यावसायिक सुन्तला खेतीतर्फ विदेशबाट फर्किएर आएका युवाहरु संलग्न छन् ।

सुन्तलामा देखिएको प्रकोप नियन्त्रण गर्न खाद्यपासो थाप्नुका साथै किसानलाई आवश्यक सहयोग गर्ने गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो । उहाँले जिल्लाको अन्य ठाउँमा पनि सुन्तला खेतीमा देखिएको रोग, किराको नियन्त्रण गरिनुका साथै किसानहरुलाई आवश्यक तालिमसहित कृषि औजार तथा प्राविधिक सहयोग गर्ने बताउनुभयो ।

औँसा किराको प्रकोपका कारण गएको आर्थिक वर्ष २०७७/७८ मा ८ सय ३४ मेट्रिक टन सुन्तला उत्पादन घटेपछि कुल उत्पादनमा जिल्लाभर २५ प्रतिशतले कमी आएको थियो । जिल्लामा वार्षिक ३ हजार ३ सय ३७ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेकोमा गएकाे वर्ष प्रकोपका कारण २ हजार ५ सय ३ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

गएकाे वर्षको तथ्याङ्कअनुसार जिल्लाभर कुल ८ सय हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा ४ सय ४५ हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको थियो । उत्पादित सुन्तलामध्ये ५० प्रतिशत अर्थात १२ सयभन्दा बढी मेट्रिक टन सुन्तला जिल्लाभित्रै खपत भएको थियो । जिल्लाभरि उत्पादित सुन्तलाको कुल छ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्याङ्कमा देखिन्छ ।

कृषि प्राविधिकहरुले दिएको जानकारीअनुसार सुन्तला रोपेको ५ वर्षपछि फल दिन सुरु हुन्छ । फल दिए पनि तुरुन्तै सुन्तलाले लाभ दिन नसक्ने भएकाले ६ देखि १० वर्षसम्म लाभ दिन थाल्छ । त्यसपछि अनुकूल वातावरण तथा रोग, किराको प्रकोप नभएको खण्डमा सुन्तला लगाएको १२ वर्षपछि लगानीको १५ गुणाले आम्दानी दिने कृषि प्राविधिकहरु बताउँछन् ।

सुन्तला खेतीमा व्यवस्थापन खर्च भने कम रहेको बताइएको छ । म्याग्दी जिल्लामा पछिल्लो समय युवाहरु विदेशबाट फर्किएर वा विदेश जान छाडेर व्यावसायिक कृषि खेतीतर्फ आकर्षित भएका छन् । सरकारी निकायबाट आवश्यक सहयोग, कृषि अनुदानलगायत प्राविधिक सहयोगका साथै अन्य सुविधाहरु पाइने हुँदा पछिल्लो पटक म्याग्दीमा बारी र खेतलाई मासेर नगदेबालीतर्फ किसानको आकर्षण बढेको छ ।

Leave a Reply