गतबर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगीत भएको जेसीजकप फुटवल प्रतियोगिता यसबर्ष हुने भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९ औँ संस्करणको प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालन हुने भएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि आर्थिक संकलन, प्रचार प्रसारका काम सुरु गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । ‘विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने प्रतियोगिता हो,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा सहित प्रतियोगिताको तयारीमा जुटेका छौ’ अध्यक्ष श्रेष्ठले भने ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिए ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनको लागि रु ८ लाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ । सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक रहने यस प्रतियोगितामा आर्थिक संकलनका लागि टाइटल स्पोन्सर, प्रायोजक र सह–प्रायोजकको लागि समेत आह्वान गरिएको आयोजकले जनाएको छ ।

म्याग्दी जिल्लामा माविस्तरीय फुटबल प्रतियोगिताबाट खेलाडीको उत्पादन तथा क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलसम्म पुग्न सहज भएको छ । पत्रकार सम्मेलनमा नेपाल जेसीजका उपाध्यक्ष सुजन बरुवाल,म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ र निर्वतमान अध्यक्ष खम थापा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply