नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ सरकारले प्रतिबन्ध फुकुवा गरेपछि पहिलोपटक म्याग्दी आउने भएको छ । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्न मंगलबार राती म्याग्दी सदरमुकाम बेनीमा आउनुभएको हो । दलबल सहित आउनुभएका चन्द जिल्लाका प्रभावशाली नेता धुब्र घिमिरेको घर बगरफाँटमा गएर बस्नुभएको छ ।

केन्द्रिय नेताहरू जिल्ला आउँदा होटलमा बस्ने गरेपनि विप्लवले भने आफ्नै पार्टीको नेताको घर टिमसहित बास बस्न गएपछि बगरफाँट आसपासमा सुरक्षा ब्यवस्था समेत कडा बनाइएको छ । तत्कालिन समयमा पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादीको चुनाव प्रचारप्रसारका लागी म्याग्दी आउनुभएका नेता चन्द त्यसपछि पहिलोपटक खुल्लामञ्चमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुदै हुनुहुन्छ ।

यसअगाडी पार्टीको बैठक तथा विभिन्न कार्यक्रममा आउनुभएपनि प्रतिबन्धको फुकुवा र सार्वजनिक कार्यक्रममा लामो समयपछि देखिएको नेकपाका एक नेताले बताए । म्याग्दीको बसाईको क्रममा जिल्लाको भावी योजना सहित विविध विषयमा समेत छलफल हुने एक नेताले बताए । आज सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने सभाका जनबादी सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।

मगर मुक्ति मोर्चा नेपालको मंसिर १ गते नवलपुरमा सम्पन्न तेस्रो पुर्ण वैठकको निणर्य अनुसार पार्टी पुनस्थापना दिवशको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले बताउनुभयो ।

सम्मेलनलाई सभ्य र भव्य तरिकाले सम्पन्न पार्नका लागि बिभिन्न उपसमितिहरु गठन गरिएको थियो । बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा उद्घाटन गरिने, ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने छन् ।

Leave a Reply