पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो । 

उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि पर्यटककाे आकर्षण बनेको हो ।

टोड्केका स्थानीयबासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबु–बाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । पाँच घरधुरी बसोबास रहेको टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् ।

टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेली समेत बनेको छ । भैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको स्थानीय महिला उद्यमी तीजमाया पाइजाले बताउनुभयो । उहाँका अनुसार स्थानीयले एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँ आम्दानी गर्दछन् । मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री वितरण गर्ने गरिएको छ ।

टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मुलाको तौल झण्डै ५ किलो सम्म हुने गरेको मुला व्यवसायीले अनुभव सुनाएका छन् । यस्तै थोरै मिहनेत गर्ने र समय दिने हो भने मुलाको प्रयोगबाट विभिन्न प्रकारका परिकारहरु बनाउन सकिन्छ । टोड्केका स्थानीयले मुलाबाट जस्तैः धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । स्थानीयले मुलाबाट यस्तै खालका परिकारहरु बनाइ बिक्री वितरण समेत गर्दै आएका छन् ।

 

Leave a Reply