बेनी नगरपालिका-१,अर्जमका तिलाराम थापा बेनी-बागलुङ सडकखण्डमा साँझपख सदरमुकाम बेनीबाट घर फर्किदै गर्दा धेरैपटक चितुवासँग जम्काभेट भएको छ। सडकखण्डको छेउमा, नजिकै जंगलबाट हेरिरहेको अवस्था र एक्कासी अगाडिबाट बाटो काट्दै गरेको अवस्थामा थापाले जस्तै जामुनाखर्क माविका विज्ञान शिक्षक रमेश बोगटीले समेत धेरैपटक चितुवासँग आँखा जुधाएकाका छन् ।

सडकखण्डमा एकाविहानै र साँझपख पैदल र दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्ने क्रममा त्रसित हुनुपरेको थापाले बताए ।‘बाटैभरी चितुवा छ,‘साँझपख एक्लै यात्रा नगरेकै राम्रो हुन्छ’ शिक्षक थापाले भने । सडकखण्डमै देखिएको अवस्थामा मोटरसाइकललाई पच्छाउने गरेकाले मानवीय दुर्घटनाको जोखिमले यात्रु त्रसित हुनुपरेको छ ।

सडकखण्डको म्याग्दी र बागलुङतर्फ हरेक दिन यात्रा गर्ने यात्रुले चितुवा देखिएको बताउने गरेको भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए । ‘हो–हल्ला गरेपछि चितुवा भाग्ने गरेको छ,‘सवारीसाधनको ध्वनी नजिकै भेटिएका झम्टिने प्रयास गर्छ’ प्रअ खत्रीले भने ।

उनले पछिल्लो समय चितुवा आक्रमण देखिएकाले यात्रामा सर्तक हुनुपर्ने अवस्था आएको बताए । त्यस्तै सदरमुकाम बेनीबजारसँगै जोडिएको वराहपाखो सामुदायिक बनमा संरक्षित वन्यजन्तु चरी बाघ र चितुवा सडक आसपासमै भेटिने गरेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

चितुवा र चरी बाघको संख्या गणना गर्ने उपकरण नभएपनि बजार र बस्ती आसपासका क्षेत्रमा बाख्लै देखिने गरेकाले संख्या बढेको अनुमान गरिएको कार्यालय प्रमुख चन्द्रमणी सापकोटाले बताए । ‘बन्यजन्तुको बाटोमा सडक बनेको छ,‘खानेपानी, बसास्थान खल्बलिएको छ’ सापकोटाले भने ।

उनले एकै ठाउँमा धेरैपटक चितुवा देखिनुलाई आसपासका क्षेत्रमा रहेको बासस्थानमा जाने क्रममा जम्काभेट भएको मान्न सकिने बताए। उनले म्याग्दीमा सबै प्रकारको बन्यजन्तुको संख्या बढेको र खानाको अभाव, बासस्थानमा जाने क्रममा भएको अवरोधले समेत सडक आसपास र बस्तीमा प्रवेश गर्न सक्ने बताए ।

‘झमक्क साँझ पर्ने वित्तिकै सडकमै चितुवा देखिएपनि चितुवालाई सुरक्षित महसुस गरेमा आक्रमण गदैंन्’ कार्यालय प्रमुख सापकोटाले थपे । म्याग्दीमा कालिज फार्म, सर्वसाधारणको पशु गोठ, कुखुराको फर्म लगायतमा चितुवा भेटिनुलाई आहाराको कमी प्रमुख कारण भएको उनले बताए ।

चितुवाले एकपटक आक्रमण गरेपछि हिंस्रक हुनसक्ने भन्दै मानिसलाई आक्रमण गरेपछि दोहो¥याएर आक्रमणको सम्भावना धेरै हुने बन कार्यालयका प्राविधिकको भनाई छ । चितुवा नजिकै देखिएपनि आफूलाई खतरा महसुस नभएसम्म आक्रमण नगर्ने भएकाले गन्तब्यतर्फ हिडेपछि मात्रै यात्रु आफ्नो बाटो लाग्नुपर्ने प्राविधिकको भनाई छ ।

म्याग्दीको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहमा बन्यजन्तुले पशुचौपाया खाएको गुनासो विगतमा भन्दा धेरै आउने गरेको डिभिजन बन कार्यालयले जनाएको छ ।

 

Leave a Reply