‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सुरुवाती दिन आज अन्तत्र्रिmया कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले सबै कुराको मूल नीति राजनीति भएकाले राजनीतिमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान, ऐन, कानुनमा महिलासम्बन्धी हक, अधिकारको व्यवस्था गरेको भए पनि त्यसलाई हु–बहु कार्यान्वयन गर्ने सवालमा भने फितलो रहेको बताउँदै सम्बन्धित निकायले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य केसीले पछिल्लो समय समाजमा विभिन्न किसिमका हिंसाजन्य घटनाहरु बढ्दै जान थालेको हुँदा कानुनको प्रभावकारी कार्यान्वय गर्नुपर्ने बताउँदै महिलासँग सम्बन्धित घटनामा स्वतन्त्र रुपमा छानबिन र कारवाही गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले लैङ्गिक हिंसाका घटना हुन नदिन तथा न्युनीकरण गर्नका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले घरेलु तथा महिला हिंसा घटाउन महिलाहरुलाई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध गराएर उनीहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारीले एउटी महिला छोरी, दिदीबहिनी, बुहारी र आमाको भूमिकामा रहेकाले विद्यालय तहबाटै महिलाप्रति सम्मान गर्ने भावनाको विकास गराउन सकेमा लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समुदाय, विद्यालय र वडा तहमा पुगेर १६ दिनसम्म लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले लैङ्गिक हिंसासम्बन्धी विषयमा आधारित रहेर म्याग्दीमा लैङ्गिक हिंसाका घटना तथा पछिल्लो अवस्थाबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेल, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मी र बेनी सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी हिमाल आचार्यले लैङ्गिक हिंसा न्युनीकरण गर्न समुदायस्तरमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेल, अधिकारकर्मी जमुना आचार्यको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संगम, मिलन, कदम म्याग्दी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश मावि र बेनी सामुदायिक माविले संस्थागत सहभागिता जनाएका थिए ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता र सहायक महिला विकास निरीक्षक डमसरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा प्रभातफेरी ¥याली निकालिएको थियो ।

Leave a Reply