बेनी नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमासम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना, द एसिया फाउण्डेशनको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट प्रालिको सहजीकरणमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममाथि सहजीकरण गर्दै नेपाल सरकारका पूर्व सचिव डाक्टर मानबहादुर विकले आवधिक योजना मार्गदर्शन भएकाले त्यसलाई कार्यान्वयन गर्ने कागजात मध्यकालीन खर्च संरचना रहेको बताउनुभयो । उहाँले मध्यकालीन खर्च संरचनाले बजेट र कार्यक्रमलाई निर्देशित गर्ने बताउँदै आवधिक योजना र मध्यकालीन खर्च संरचनालाई लिएर मात्रै बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा रुरल एण्ड अर्वन कन्सल्ट प्रालिका प्रमोद अर्यालले नगरपालिकाको मध्यकालीन खर्च संरचना आर्थिक प्रशासनको महत्वपूर्ण औजार भएकाले यसले प्रदेश र केन्द्र सरकारसँग जोड्ने काम गर्ने बताउनुभयो । उहाँले वित्तीय सङ्घीयताको मुख्य कार्य रहेको मध्यकालीन खर्च संरचना तर्जुमा अब बेनी नगरपालिकाको पनि मध्यकालीन खर्च संरचना निर्माण गरिने भएकाले सही र तथ्यपरक सूचनाहरु उपलब्ध गराउन माग गर्नुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले आगामी निर्वाचन हुनुभन्दा अगावै बेनी नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमा गरिने बताउनुभयो । कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमा गर्नका लागि आवश्यक सही सूचनाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख सन्जु बरुवालको स्वागत र शाखा अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बेनी नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिकाको विभिन्न शाखाका प्रमुख लगायतले सहभागिता जनाएका थिए ।

Leave a Reply