नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

केहीदिन यता काठमाण्डौमा पार्टीका नेताहरूसँग भेटघाटमा ब्यस्त बानियाँले शिर्ष नेतृत्वले केन्द्रीय सदस्यमा सघाउने संकेत देखाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । केन्द्रिय सदस्य पदमा उम्मेदवारीका लागी बानियाँले कांग्रेस म्याग्दीको टोलीसँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलाई समेत भेटेका छन् ।

भेटघाटको क्रममा शिर्ष नेतृत्वले टिमभित्रैबाट उम्मेदवारीका लागि सकारात्मक भएको बताएपछि उत्साहित भएर तयारीमा जुटेको पुर्व संविधानसभा सदस्य समेत रहेका बानियाँले बताए । ‘सबै नेताहरूलाई भेटेर आफ्नो योजना सुनाइरहेको छु,‘खुल्ला र खसआर्यमध्ये एकबाट उम्मेदवारी हुन्छ’ नेता बानियाँले बेनीअनलाइनलाई भने ।

केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दिने बारेमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ सहित काठमाण्डौमा रहेका महाधिवेशन प्रतिनिधि, जिल्लाका नेताहरूसँग समेत छलफल गरेका छन् । जिल्ला नेतृत्व समेत उम्मेदवारीमा सकारात्मक देखिएपछि नेता बानियाँ अगाडी बढेका हुन् ।

बानियाँ पौडेल निकट भएकाले संस्थापन इतर समुहको प्यानलबाट चुनावी मैदानमा उत्रिने छन् ।समूहमा नपरे महाधिवेशनमा विजय हुन नसक्ने भएकाले समूहबाट चुनाबमा गएपनि संस्थापन पक्षबाट समेत साथ पाउने अवस्था रहेको उनले बताए । उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने दाबीसमेत गरेका छन्। बि.स २०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।

उनले २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा सदरमुकाम बेनीबजार रहेको अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

पार्टीमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरिसकेका छन् । बि.श २०६४ मा सम्पन्न भएको पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेका बानियाँ दोस्रो जनआन्दोलनको क्रममा प्रहरी हिरासतमा समेत पुगेका थिए । म्याग्दीमा हालै सम्पन्न जिल्ला अधिवेशनमा नेता बानियाँ संस्थापन र इतर समुहको साझा उम्मेदवारको रुपमा महाधिवेशन प्रतिनिधिमा विजय समेत भएका थिए ।

Leave a Reply