बाराको निजगढमा सम्पन्न तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा म्याग्दीका दुई खेलाडीले गण्डकी प्रदेशलाई पदक विहिन हुनबाट जोगाएका छन् ।

मङ्सिरको १० र ११ गते भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी म्याग्दीकी ममता गर्बुजाले ६२ केजी र रक्षा पूर्जाले ४९ केजी तौल समुहबाट काँस्य पदक जितेका हुन्।निजगढ तेक्वान्दो डोजाङ्गको आयोजनामा भएको तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गण्डकी प्रदेशबाट १४ जनामा म्याग्दीबाट मात्रै ५ जनाले सहभागिता जनाएका थिए ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका प्रशिक्षक कर्ण प्रधानलेम्याग्देली खेलाडीले प्रदेशकै इज्जत राखेको बताउनु्भयो। ‘गण्डकीले दुई पदक मात्रै जित्यो, म्याग्दीले प्रदेशलाई पदकविहिन हुन दिएन’प्रशिक्षक प्रधानले भन्नुभयो । प्रतियोगितामा सात प्रदेश र विभागीय टिम सहभागी भएका थिए।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको थियो ।

मार्सल आट, तेक्वान्दो, कराँते लगायतका अन्य विधाहरूमा म्याग्दीले प्रदेश तथा राष्ट्रियस्तरका खेलहरूमा उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेको छ।खेलकुदका अध्यक्ष दिनेश केसीले विजेता खेलाडीको प्रोत्साहन तथा खेल प्रतिभाको उजागरका लागि समितिमार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply