म्याग्दीमा बोलेरो जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीदेखि रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम भन्ने गाउँमा जाँदै गरेको ग१ज ७२ ५१ नम्बरको जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय वडा सदस्य ३० बर्षिया गौमायाँ विक, सवारी चालक अन्दाजी ३५ बर्षिय दुतबहादुर थापा, खिम पुन र ५६ बर्षिया खिमनाथ शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । ‘तत्काल उपचारमा केन्द्रित छौ,‘घटनाको थप अनुसन्धानका लागि टोली खटाउँछौ’ प्रनाउ राईले भने । सोमबार साँझ पौने ५ बजे जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । घटनास्थलमा पुगेको प्रहरीको प्रारम्भीक अनुसन्धानले चालकले गाडी नियन्त्रणको प्रयास गरेपनि असफल भएपछि सडकबाट खसेको देखिएको जनाएको छ ।

सडकबाट ब्रेक फेल भएर खसेको जीपको घटनास्थलबाट दुई र सिकिस्त अवस्थामा उद्धार गरिएका दुई जनाको बेनी अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए। दुर्घटनामा गम्भिर घाईते २० बर्षिय भिम फगामी, २३ बर्षिय मनोज पुन, २३ बर्षिय ज्ञानबहादुर शेरपुञ्जा र ५४ बर्षिय बलबहादुर विकलाई पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको प्रनाउ राईले बताए। घाईतेको टाउको, खुट्टा,ढाड तथा शरिरको बिभिन्न भागमा चोट लागेको छ । मृतक र घाईते रघुगंगा गाउँपालिका १ बेगका बासिन्दा हुन् ।

निलगिरी यातायात प्रालिद्धारा सञ्चालित बोलेरोले ढुवानीको समान सहित यात्रु लिएर गएको थियो । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले घाईतेको उपचारमा कुनैपनि कमी हुन नदिने बताए ।

घाईतेको उद्धारका लागि नेपाल रेडक्रस सोसाईटी, स्थानीयबासी तथा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा घाईते भएकाको अवस्था बुझ्न गण्डकी प्रदेशका सांसद विनोद केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना,नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, उपसभापति कर्णबहादुर भण्डारी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, रेडक्रस सोसाईटीका सुरत केसी लगायतको टोली खटिएको थियो ।

 

Leave a Reply