बैवाहिक समारोहमा सहभागी भएर सोमबार दिउँसो पर्वतको बौरबाट कालिपुल बसपार्कमा आउनुभएकी रघुगंगगा गाउँपालिका–१,बेगखोलाकी वडा सदस्य गौमायाँ विकले करिब डेढघण्टा बसपार्कमै विताउनुपर्यो ।

विवाहको रमझम छोडेर वडाको कार्यक्रममा सहभागी हुन हतार-हतार गरी बसपार्कमा आउँदा विकले गाउँ फर्किने गाडी नआएकाले बसपार्कमै कुरेर बसेको भन्दै वडा अध्यक्ष बिलबहादुर फगामीलाई फोन गर्नुभयो । ‘गाडी कुरेर बसेको धेरै भयो भन्नुहुन्थ्यो,‘‘झोलुङ्गे पुल नजिकै आउँदा एउटा गाडी गयो, अर्को कुरेर बसेको भन्दै गरेको फोन नै अन्तिम भयो’ वडा अध्यक्ष फगामीले भन्नुभयो ।

आफ्नो घरायसी काम समेत छोडेर वडाको काममा सक्रिय हुने गरेको वडा अध्यक्ष फगामीको भनाई छ । वडा अध्यक्ष फगामीले अघिल्लो दिन सदस्य विकले आफन्तको विवाहमा सहभागी भएर दिउँसो वडामा आयोजित बैठकमा कुनैपनि अवस्थामा उपस्थित हुने योजना रहेको सुनाएको बताउनुभयो ।

‘वडाले एक असल जनप्रतिनिधि गुमाएको छ,‘उहाँको अभाव सधै खड्किने छ’ वडा अध्यक्ष फगामीले भने ।दलित समुदायको प्रतिनिधित्व गर्ने विकले आफ्नो समुदायका लागि योगदान अतुलनीय रहेको वडा अध्यक्ष फगामीको भनाई छ।

यता वडा सदस्य सहित गाउँका चार जनाको बोलेरो जीप दुर्घटनामा मृत्यु भएपछि बेगखोला शोकमा डुवेको छ ।जनप्रतिनिधिको दुर्घटनामा ज्यान गएपछि गाउँपालिकाले समेत मंगलबार काम बन्द गरी शोक विदा गर्ने प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । ‘दुर्घटनाको खवरले दुखी छौ,‘घाईतेको उपचारमा आवश्यक समन्वय भइरहेको छ’ सुबेदीले भन्नुभयो ।

दुर्घटनामा स्थानीय वडा विक, सवारी चालक अन्दाजी ३५ बर्षिय दुतबहादुर थापा, खिम पुन र ५६ बर्षिया खिमनाथ शर्माको मृत्यु भएको थियो भने स्थानीय भिम फगामी, बलबहादुर विक, मनोज पुन र ज्ञान बहादुर शेरपुञ्जा घाईते भएको प्रनाउ राईले बताए। घाईतेको टाउको, खुट्टा,ढाड तथा शरिरको बिभिन्न भागमा चोट लागेको छ ।सामान्य र जटिल अवस्थामा रहेका घाईतेको थप उपचारका लागि मणिपाल अस्पताल पोखरामा रिफर गरिएको छ । मृतकको शव पोष्टमार्टम परी आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Leave a Reply