म्याग्दीको सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम गाउँमा जाँदै गरेको ग१ज ७२ ५१ नम्बरको बोलेरो जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भएको हो । सोमबार दिउँसो करिब पौने ५ बजे अनियन्त्रित भई सडकबाट चालक सहित ८ जना सवार जीप सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । गाउँमा आउँदै गरेको जीप दुर्घटनाको खवर लगत्तै स्थानीय जीप खसेको ठाउँमै पुगे ।

दुर्घटनापछि जीपभित्र यात्रुहरु चिच्याइरहेका थिए । दुर्घटनामा घाईतेलाई तत्काल बाहिर निकाल्न सक्ने अवस्था थिएन् । आकस्मिक उद्धारका लागि स्ट्रेचर लगायतको आवश्यक उपकरणको अभावका कारण घाईते यात्रु जीप भित्र छटपटाइरहेका थिए ।

झमक्क साँझ परेको अवस्थामा यात्रुको शरीरबाट रगत बगिरहेको थियो । सदरमुकाम बेनीबाट करिब १५ किलोमिटर नजिक भएको दुर्घटनामा घाईतको उद्धारकार्यमा ढिलाई हुदाँ मानवीय क्षती भएको छ । दुर्घटनापछि नेपाल प्रहरी, रेडक्रस सोसाईटी, स्थानीयबासीलाई बेनी अस्पतालसम्म ल्याउन ३ घण्टा भन्दा बढी लागेको दुर्घटनामा घाईते स्थानीय यूवा ज्ञानबहादुर शेरर्बुजाले बताए ।

‘दुर्घटनास्थलमा समयमै सवारीसाधन पुगेन,‘एउटा एम्बुलेन्स बाटोमै फस्यो’ घाईते शेरर्बुजाले भने । तत्कालै घाईतेको उद्धार हुन सकेको भए धेरै मानवीय क्षती हुने अवस्था नभएको बताए ।‘उद्धारमा खटिएको टोली नै ढिलो पुग्यो,‘गाउँमा एम्बुलेन्स नहुदाँ दुर्घटनामा गाउँले ज्यान गुमाउनुप¥यो’ उनले भने । उनले उद्धारमा खटिएकाहरूको सहयोगमा जसोतसो अस्पतालमा आएपछि मात्रै बाचिन्छ भन्ने आश पलाएको बताए ।

जीपबाट खसेका शेरर्बुजाले जीपभित्र रहेका दुई यात्रुले समयमै उपचारको अभावमा कारण ज्यान गुमाएको बताए । साँधुरो बाटोमा रहेको घुम्तीका कारण दुर्घटना भएको बताए । घाईते शेरर्बुजाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र २ जनाको बेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो भने गम्भीर घाईते अवस्थामा उद्धार गरिएकी वडा सदस्य गौमायाँ विक, सवारी चालक दुतबहादुर थापाले समयमै उद्धार नहुदाँ ज्यान गएको उद्धारमा खटिएको टोलीको भनाई छ ।

दुर्घटनामा गम्भीर घाईते ३ जनाको पोखराको मणिपाल अस्पताल र १ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। ‘समयमै प्राथमिक उपचार नपाउदाँ समस्या भयो,‘घटनास्थलबाट सकेसम्म छिटो स्वास्थ्य संस्थामा ल्याउनुपर्छ’ उपचारमा खटिएका एक चिकित्सकले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले खवर आएलगत्तै प्रहरीको जनशक्ती पुग्ने गरेपनि आवश्यक दुर्घटनास्थलमा एम्बुलेन्स सहित अक्सिजन लगायतका आपतकालिन उपकरणहरूको अभावले उपचारमा समस्या हुने गरेको बताए । उनले साँझ र रातीको समयमा उद्धारमा कठिनाई हुने गरेपनि म्याग्दीमा उपकरणको अभावले थप समस्या हुने गरेको बताए ।

भौगोलिक रुपमा विकट म्याग्दीमा हुने सडक दुर्घटनाका घाईतले समयमै उपचार नपाउँदा समस्या हुने गरेको छ । कच्ची सडकमा बर्षेनी दुर्घटना हुने भएपनि आपत्कालिन उद्धार सहितका दस्ता तथा उपकरणको अभावले समस्या हुने गरेको उद्धारकार्यमा खटिएको टोलीको भनाई छ ।

Leave a Reply