रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम गाउँमा जाँदै गरेको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएकाको आफन्त र घाईतेहरुको उपचारमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । सवारी चालक र वडा सदस्य सहित दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका छन् ।

मृतक चार जनाकै घरपरिवारलाई आफ्नो परम्परा अनुसार काजकिरियाका लागि ५० हजारका दरले र घाईतेहरुको उपचारमा लाग्ने खर्चमध्ये जनही रु १ लाख सम्म गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, चालक दुतबहादुर थापा, र वडा सदस्य गौमायाँ विश्वकर्माको मृत्यु भएको थियो ।

दुर्घटनामा घाईते भएका ४ जनालाइ बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रेफर गरिएको छ ।यसैबिच दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शोकमा मंगलवार गाउँपालिकाले गाउँपालिका, वडा कार्यालय, सेवा केन्द्र, र अत्याबश्यक बाहेकका स्वास्थ्य सेवाको कामकाज बन्द गरिएको छ भने वडा नम्बर एकमा विद्यालयहरु समेत बन्द गरिएको प्रमुख प्रशासयिक अधिकृत अमृत सुवेदीले बताए ।

मंगलवार गाउँपालिकामा एक कार्यक्रम गरि दुर्घटनामा परेर ज्यान गुमाएका वडा सदस्य सहित चार जनाको तस्बिरमा माल्यार्पण गरेर दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा समेत गरिएको छ । गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत सुवेदी, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जिवन मल्ल, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ८ का अध्यक्ष गमान छन्त्याल लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीले समेत ज्यान गुमाएकाहरुको तस्बिरमा फुलमाला लगाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Leave a Reply