म्याग्दीको सदरमुकाम बेनी बजारको प्रवेशद्धारमै कुरूप, बजारभित्र लथालिङलाई ब्यवस्थित गरी सुन्दर बेनीबजार बनाउने अब ढिलो गर्न नहुने सरोकारवाला निकायले बताएका छन् ।

बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होडिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको जस्तापाताको छाप्रो हटाउन ७ दिने सूचना दिने निर्णय भएको छ ।

बेनी नगरपालिका भित्र ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन ब्यवस्थित पार्किङ, फरकिलो बाटो, सार्वजनिकस्थलमा सरसफाई, सिसि क्यामरा, बजार लाईट लगायतलाई ब्यवस्थित गर्ने उद्देश्यले बेनी नगरपालिका आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, म्याग्दी उद्योग वाणिज्य, ट्राफिक कार्यालय विच छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले बताए ।

बेनी बजारमा विभिन्न ब्यवसायका गरेका ब्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढोक्ने गरी सामानहरु झुड्याउने कार्य हटाएर सुन्दर बजार बनाउन सहयोग गर्न बजारबासीलाई बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

बेनी बजार सुन्दर बनाउने अभियानमा भएको कमिकमजोरीलाई नदोहोरिने गरी अब कडा रुपमा प्रस्तुत हुन र आवश्यकता अनुसारको साथ दिने सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धता समेत जनाएका छन् । ‘सडकलाई असर गर्ने गरी राखिएको बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ,‘बाहिरी जिल्लाबाट प्रवेश गर्नेलाई कालिपुल प्रवेशद्धारमै राम्रो सन्देश दिनुपर्ने छ’ मेयर श्रेष्ठले भने ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाहरुको निणर्य बेनी बजारका ब्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकायको सहयोगमा हटाउने प्रतिवद्धता जनाए । प्रजिअ रानाले बजारलाई सुन्दर बनाउन टोलसुधार समिति सक्रिय, बसपार्क ब्यवस्थापन समिति निर्माण गर्न, सरसफाई गर्ने कुचिकार राख्न नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।म्याग्दी उद्योग बाणिज्य संघ अध्यक्ष बेलबहादुर कटुवालले बजारलाई ब्यवस्थित बनाउन नगर प्रहरी र सार्वजनिकस्थल सरसफाई गर्ने कुचिकार राख्न आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले सार्वजनिक स्थलका अस्थाई छाप्रोहरु हटाएर पार्किङलाई ब्यवस्थित बनाउन सहयोग गर्ने बताए । उनले बसपार्कलाई निजि ब्यवसायीले प्रयोग गर्दा यातायातहरु प्रभावित भएको जानकारी गराउदै नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने बताए ।

प्रजिअ रानाले बजारमा ट्राफिक ब्यवस्थापनमा बजारबासी सचेत बनेर पार्किङ र नो पार्किङलाई बोर्डलाई हप्ता–हप्तामा परिर्वतन गरिदिन आग्रह गर्नुभयो। बेनी बजारलाई सुन्दर बनाउने विभिन्न समयमा भएका निणर्हरु कार्यान्वयनको अभावले बजार अब्यवस्थित र ब्यवसायीको सामानहरुले सडकहरु साघुरो भन्दा सेवाग्राहीलाई बजारमा सास्ती भएको थियो ।

Leave a Reply