नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि देशैभरी तल्लो तहसम्म गुट हावी भइरहेको अवस्थामा म्याग्दी कांग्रेसले एकताको सन्देश दिने गरी केन्द्र र प्रदेशमा उम्मेदवारी घोषणा गरेको छ । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका निर्वतमान सभापति रेशमबहादुर बानियाँले केन्द्रीय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उमेद्वारी गरेका छन् ।

कांग्रेसभित्र देखिएको संस्थापन र संस्थापनइतर समूहबीच एकले अर्कालाई पेल्ने रणनीतिका बिरुद्ध जिल्लाबाट केन्द्र र प्रदेशमा बानियाँ र महतले एकैठाउँमा उपस्थित भई उम्मेदवारी घोषणा गरेका हुन् । संविधान सभाका सदस्य समेत रहेका बानियाँ रामचन्द्र पौडेल र पूर्व सहसभापति महत सभापति शेरबहादुर देउवा निकट छन् ।

केन्द्रीय सदस्यका उम्मेदवार बानियाँ महाधिवेशनमा पौडेल समुहबाट उम्मेदवारी दिने घोषणा गरेका छन भने महतले देउबा पक्षबाट उम्मेदवारीको घोषणा गरेपनि जिल्लामा भने दुबै नेतालाई गुटगत नभई पार्टीको साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा जिल्लाको समग्र बिकासका लागि म्याग्दीको प्रदेश र केन्द्रीय तहमा राजनीतिक पहुँच बढाएर पार्टी र संगठनलाई बलियो बनाउन उमेद्वार बनेको नेताद्धयको भनाई छ ।

म्याग्दी कांग्रेसको स्थापनाकाल देखि नै सक्रिय रहेका बानियाँ नेबिसंघको संस्थापक जिल्ला सभापति, तत्कालीन अर्थुङ्गे गाबिसको अध्यक्ष, पदाधिकारी हुदैं एक कार्यकाल सभापतिको जिम्मेबारी समेत सम्हालेका थिए ।

उता महत पार्टीको नेपाल तरुण दल म्याग्दीका संस्थागत अध्यक्ष, तत्कालिन कांग्रेस प्रजातान्त्रिका जिल्ला सभापति, पार्टीको पूर्व सहसभापति हुन् । उनले प्रदेशमा पार्टीको उपस्थिति बलियो बनाउन आफ्ना उम्मेदवारी दिएको बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममानेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले वडा तथा नगर÷गाउँपालिकास्तरीय अधिवेशनमा सर्वसम्मत तथा जिल्ला अधिवेशनमा मतदान प्रक्रियामा सहभागी भएपनि जिल्लामा कांग्रेस एकजुट रहेको बताए ।

‘केन्द्रमा हाम्रो उपस्थिति सबैभन्दा ठूलो आवश्यकता छ,‘गुट र समुहले होईन म्याग्दीले जित्नुपर्छ’ सभापति गर्बुजाले भने । एकले अर्कालाई पेल्ने नभई केन्द्र र प्रदेशमा जितेर म्याग्दी कांग्रेसलाई बलियो बनाउने अभियानमा लागेको सभापति गर्बुजाको भनाई छ ।

कांग्रेसमा विवादको मुख्य कारण नीति तथा विचारमा होइन, गुटगत असमझदारी भएकाले जिल्लामा भने समस्या नरहेको कांग्रेस म्याग्दीले जनाएको छ । नेपाली काँग्रेसको प्रदेश अधिबेशन मंङसिर १६ देखि १८ गते, चौधौ केन्द्रिय महाधिबेशन मंसिर २४ देखि २७ गतेसम्म हुदैछ ।

Leave a Reply