‘घरैबाट सुरु गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित जारी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बाल क्लब र किशोरी समूहका सदस्यहरुलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । संगम म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र माउण्ट एभरेष्टको व्यवस्थापनमा मङ्गलबार कार्यक्रम गरिएको हो ।

म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको आयोजकले जनाएको छ । किशोरकिशोरीलाई लैङ्गिक हिंसाविरुद्ध सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा लैङ्गिक तथा घरेलु एवं महिला हिंसा, बालमैत्री स्थानीय शासन, बालअधिकार, बाल क्लब तथा किशोरी समूहका सदस्यहरुको सशक्तिकरण, बालविवाह न्युनीकरण लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

यसैगरी मानव बेचबिखन, बालशोषण, बालश्रम, विद्युतीय अपराध, सामाजिक सञ्जाल प्रयोगसम्बन्धी विभिन्न विषयहरुमा पनि सहजीकरण गरिएको माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसीले बताउनुभयो । कार्यक्रममाथि सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा र संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले सहजीकरण गर्नुभएको थियो । आगामी दिनमा पनि बेनी नगरपालिकाको सबै विद्यालयहरुमा सचेतनामूलक अभियान निरन्तर रुपमा सञ्चालन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल केसीको अध्यक्षता, शिक्षक सिर्जना शाहीको स्वागत र संगमका अध्यक्ष दीपक पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ५२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरुलाई विभिन्न विषयमा सचेतनासहित उनीहरुको प्रतिभा प्रस्फुटन गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

Leave a Reply