कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ। कोरोना सङ्क्रमणको अवस्था विस्तारै बढ्न थालेको भन्दै नयाँ भेरियन्ट भित्रिन नदिन प्रवेशमा कडाइ थालिएको हो।
मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गइरहेकाले पुनःसङ्क्रमण बढ्ने तथा नयाँ भेरिएन्ट भित्रिन सक्ने जोखिमका कारण जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
उनका अनुसार आज राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी विशेषगरी पर्यटकका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई जिल्ला प्रवेशमा कडाइ गर्न लागिएको हो।
यद्यपि मुस्ताङमा स्थायी बसोबास गर्दै आएका तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भिडभाड हुने खालका कार्यक्रम नगर्न आदेश दिएको छ। यस्तै विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नुपरेमा बढीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको छ। nagariknews.com