तपाईको घरमा अपरिचित मान्छेले सामान बेच्ने बाहनामा बास माग्दै आएमा होसियार रहनुहोस् ! गाउँघरमा पहिलोपटक साधारण भेषभूषामा आएका मान्छेहरूले सामान बेच्ने बाहनामा तपाईको ज्यानै जोखिममा पारेर लुटपाट गर्न सक्छन् । म्याग्दीको मंगला गाउँपालिका–३,बरंजामा बास माग्न पुगेका ३ पुुरूषले कमला चोचाङ्गेलाई आर्यूवेदिक औषधीको प्रयोग गरी सुन, पैसा, मोबाईल लुटपाट गरी फरार भएपछि थप सतर्क हुनुपर्ने भएको छ ।

खाना खाएपछि दुधमा हालेर खाएपछि विभिन्न रोग निको हुन्छ भन्दै घरमुली चोचाङ्गीलाई खुवाएर नगद तथा गहना लुटपाट गरी छिमेकी गाउँ भकिम्लीको डोले प्रवेश गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए। बेहोस हुने औषधी खुवाएर चोचाङ्गीको साथबाट डेढ तोला सुन,नगद ४० हजार लुटपाट गरेको पीडितको भनाई छ।

अचेत अवस्थामा भेटिएकी चोचाङ्गीले बेनी अस्पतालमा उपचारपछि हुलियाको आधारमा भकिम्लीको डोलेकी एकल महिला जमुना पुनको घरमा बास बसेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको भकिम्लीका वडा सदस्य रत्न जिसीले बताए । स्थानीय राजु थापा मगर, बिष्णु थापा मगर, बिर बहादुर श्रीष, रणबहादुर मगर, ओम मायाँ मगरको पहलमा भकिम्लीबाट नियन्त्रणमा लिइएको थियो ।

उनका अनुसार स्थानीयले नियन्त्रणमा लिएका कालिकोटका सर्पबहादुर सिंह, धिर सिंहलाई बुधबार राती करिब ११ बजे जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा भकिम्लीको कुस्मेली चौतारीको डिलबाट दिशापिसाब गर्ने बाहनामा भाग्ने प्रयास गरेपनि सर्पबहादुरलाई नियन्त्रणमा लिइएको र धिर सिंह जंगलबाट फरार भएका थिए ।

नियन्त्रणमा लिएकाको शरीरका चोट लागेकाले बेनी अस्पतालमा उपचार भइरहेको छ । महिलाबाट लुटपाट गरिएको सामान फरार भएका धिर सिंहसँग हुन सक्ने अनुमान गरिएको छ ।  औषधी बिक्री गर्ने बाहनामा मौका छोपी लठ्याउने औषधी खुवाई गरेको आरोपपछि उनीहरू निकै त्रसित अवस्थामा देखिएका थिए ।

लठ्ठिने औषधि खुवाएर लठ्याई लुटपाट गरेको आरोपमा पक्राउ परेकाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङले बताए । ‘लुटिएको नगद र सुन फेला परेको छैन,‘अनुसन्धानकै क्रममा छ’ उनले भने ।

बाटोबाटै भागेकाको जंगल आसपासका क्षेत्रमा हुलिया दिएर खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । गाउँघरमा बाहिरी जिल्लाबाट आएको जस्तो देखिने, संकास्पद गतिविधि गर्ने, औषधी लगायतका विभिन्न साम्रागी बिक्रीको बाहना गर्ने आउनेलाई सिधै बास नदिई प्रहरीलाई खवर गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply