म्याग्दीको धौलागिरि गाउँपालिका भित्रका अति विपन्न विद्यार्थीलाई शैक्षिक साम्रागी सहयोग गर्न एक यूवाले स्वर्गीय आमाबुबाको नाममा १० लाखको कोष स्थापना गरेका छन् ।

पहिरोले क्षतिग्रस्त भएको धौलागिरी गापा-७ धारापानीको किसानी माविलाई जग्गा समेत सहयोग गरेका स्थानीय यूवा अर्जुन थापाले स्वर्गीय बुबा लोकबहादुर थापा र आमा चन्द्रकली थापाको स्मृतिमा सोही विद्यालयभित्र रहने गरी लोकचन्द्रकली स्मृति कोष स्थापना गरेका हुन् । सामाजिक कार्यमा समेत सक्रिय स्वर्गीय बुबा लोकबहादुरको सेवालाई निरन्तरता दिन कोषको स्थापना गरेको थापाले बताए ।

‘यहाँ स्थापना भएको कोषले पालिकाभरीका विपन्न विद्यार्थीलाई सहयोग गरिने छ,‘आवश्यकता अनुसार कोषमा रकम थप हुन्छ’ थापाले भने । गतबर्ष बाढीपहिरोले विद्यालय क्षतिग्रस्त भएपछि पुर्ननिर्माणको क्रममा रहेको विद्यालयभित्र नै कोष रहेर सोही विद्यालयबाट सञ्चालन गरिने विद्यालयले जनाएको छ । कोषमार्फत पहिलो बर्ष ३०, दोस्रो ३२ र तेस्रो बर्ष ३४ जना विद्यार्थीलाई बर्षभरी पुग्ने गरी शैक्षिक साम्रागी वितरण गरिने छ ।

किसानी मावि व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले स्थानीयको सहयोगबाट विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारमा समेत सहयोग मिलेको बताए । सोही अवसरमा प्रधानाध्यापक ध्रुवबहादुर भण्डारी, शिक्षक अभिभावक संघका अधयक्ष रामबहादुर खत्री लगायतको उपस्थिती रहेको थियो । १० कक्षासम्म पढाइ हुने विद्यालयमा २ सय ८० भन्दा बढी विद्यार्थी छन् ।

Leave a Reply