‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नारासहित आज (शुक्रबार) म्याग्दीमा पनि ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी र अपाङ्ग संघ म्याग्दीको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखरा, बेनी नगरस्तरीय अपाङ्गता सञ्जाल बेनी, नेत्रहिन संघ म्याग्दी, बौद्धिक अपाङ्गता संघ म्याग्दी र बहिरा संघ म्याग्दी पनि दिवस मनाउने कार्यक्रममा आयोजक बनेका थिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश पोखराको तर्फदेखि खिमलाल सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचयपत्र पाउन राज्यका नियकाबाट सास्ती पाएको, परिचयपत्र पाएको भए पनि सार्वजनिक यातायात सेवामा सहुलियत नपाएको, सरकारी कार्यालयहरु अपाङ्गतामैत्री नभएको, अपाङ्गतामैत्री पूर्ण रोजगारीको व्यवस्था नगरिएको, अपाङ्गताको क्षेत्रमा छुट्टिएको बजेटलाई काटेर अन्यत्रै खर्च गर्ने गरिएको, अपाङ्गताको परिचयपत्र पाएका सबैले सरकारी भत्ता पाउन नसकेको, सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिलाई उचित ध्यान नदिएको जस्ता गुनासाहरु गरेका थिए ।

कार्यक्रमको अवसरमा अपाङ्ग संघ म्याग्दीलाई बेनी नगरपालिकाको स्वास्थ्य शाखामार्फत पाँचवटा सेतो छडी (लठ्ठी) र तीनवटा श्रवणयन्त्र सहयोग गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले अपाङ्गता भएका व्यक्तिहरुले राखेको मागलाई सहजीकरण गर्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले अपाङ्गताको शीर्षकमा आवश्यक बजेट विनियोजन गरिएको बताउँदै अपाङ्कता भएका व्यक्तिहरुको समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सार्वजनिक यातायातका सेवामा अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सेवासुविधा कार्यान्वयन गर्न सवालमा आफूले आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागाईँले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।  अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन अपाङ्ग सञ्जाल बेनपा ७ र ८ नम्बर वडाका अध्यक्ष हृदयकुमार श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply