कपालमा पहेँलो रङ दलेका । शरीरमा हुक र जिन्स पाइन्ट अनि स्पोर्ट्स जुत्ता लगाएका । कालो रङको फित्ता भएको झोला छड्के भिरेका । त्यही झोलाको फित्तामा ज्याकेट झुण्ड्याएका । मुखमा मास्क । यस्तै हुलियाका एक युवा नाङ्लो र डालो बेच्दै हुनुहुन्थ्यो ।

तनहुँको बन्दीपुर गाउँपालिका ५ आदीमुलका २४ वर्षीय युवा प्रदीप मगर बिहान १० बजेतिर म्याग्दीको गलेश्वर आइपुग्नुभयो । हरेक वर्ष बालाचतुर्दशी पर्वमा बेनी नगरपालिका ९ को गलेश्वर शिवालयमा धार्मिक तथा व्यापार मेला लाग्ने गर्दछ । युवा मगर पनि बालाचतुर्दशीमा नाङ्लो र डालो बेच्न भनेर बन्दीपुरदेखि गलेश्वर आइपुग्नुभएको हो ।

गलेश्वर आएर नाङ्लो बेच्न सुरु गर्नुभएका उद्यमी युवाले बेलुकीपख सबै नाङ्लो र डालो बिक्री गरिसक्नुभयो । ८० वटा नाङ्लो र डालो ल्याएर आउनुभएका युवाले सबै बेचेर सकिएको बताउनुभयो । सानो र ठूला नाङ्लो तथा डालोलाई त्यसको आकारअनुसार चार सय, पाँच सय, छ सय र सात सय रुपैयाँमा ग्राहकलाई बेचेको उहाँले बताउनुभयो । बालाचतुर्दशी पर्वमा गलेश्वर क्षेत्रमा अन्य व्यापार भए पनि धेरैजसाेकाे मुख्य रोजाइ नाङ्लो र डालो थियो ।

उद्यमी युवा मगरले आफू पहिलो पटक गलेश्वरमा नाङ्लो बेच्न आएको बताउँदै व्यापार ठिकठिकै भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो परिवार सबै मिलेर नाङ्लो र डालो बनाउँछौँ । महिनामै दुई/तीन हजार वटा नाङ्लो, डालो बजारमा झर्छ ।’ बन्दीपुर क्षेत्रमा मलायो, तामा र चायाँ प्रजातिको बाँसको सहायतामा नाङ्लो, डालो, थुन्सेलगायत घरायसी सामानहरू बनाउने गरेको उद्यमी युवा बताउँछन् । गलेश्वरमा बिक्री गर्नका लागि ल्याइएका नाङ्ला र डाला मलायो र तामे बाँस मिसाएर बुनिएको छ ।

मगरसँगै आउनुभएका अर्का युवा जीवन भुजेलले पनि गलेश्वर आएर नाङ्लो, डालोको व्यापार राम्रै भएको अनुभव सुनाउनुभयो । उहाँले यसअघि तनहुँकै दमौली बजार, लमजुङ, गोरखा, पोखरालगायत ठाउँमा गएर व्यापार गरेको बताउँदै म्याग्दी आएर व्यापार गर्दा पनि राम्रै मूल्य पाएको जानकारी दिनुभयो । घरमा आफू र परिवार सबै मिलेर नाङ्लो, डालो बनाउने गरेको भन्दै उहाँले भन्नुभयो, ‘नाङ्लो, डालो बेचेर एक महिनामै २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’ आफ्ना बाबुबाजेले नाङ्लो, डालो बनाउँदै आएको हुँदा आफूहरूले पनि यस पेसालाई निरन्तरता दिएको युवाहरूको भनाइ छ ।

विगतका वर्षमा बालाचतुर्दशी पर्वको अवसरमा गलेश्वर क्षेत्रमा लाग्ने मेलामा डाला, नाङ्ला, थुन्से, भकारी र मादलको व्यापार खुब हुन्थ्यो । तर यस पटक सोचेजस्तो व्यापार नभए पनि यस वर्ष सन्तोषजनक नै रहेको व्यापारीहरू बताउँछन् । पछिल्लो समय आधुनिकताको बढ्दो प्रभावले सहर, बजारमा प्लास्टिकका नाङ्ला र डालोलगायत सामान पाइन थालेपछि बाँस र निगालोको चोयाबाट बन्ने सामानहरू लोप हुने अवस्थामा पुगेको छ । परम्परागत हाते सिपको प्रयोग गरेर बनाइने दैनिक उपभोग्य सामानको संरक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply