k'glxndf ko{6s DofUbLsf] cGgk"0f{ ufpFkflnsf ^ l:yt k'glxndf ;"of]{bo / lxdz[ªvnf cjnf]sgsf nflu k'u]sf ko{6s . k'glxndf cfGtl/s tyf afXo ko{6ssf] rxnkxn a9g yfn]sf] 5 . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

माथि डाँडामा पुगेर उत्तर र पूर्वतर्फ हेर्यो भने सेताम्य हिमालको लर्कन नै देखिन्छ । तलतिर हेर्दा कालीगण्डकीको खोंच अनि मनोरम दृश्य । भुइँमा गुन्द्री ओछ्याएर बिस्कुन सुकाए जस्तै हिउँ ।

अलिकति सम्म परेको डाँडाको बीच भागमा बनाइएको छ भ्यु–टावर । त्यही टावरमा चढेर चारैतिरको दृश्य नियाल्न पाउँदा मनमा कम्ती आनन्द हुँदैन । वरिपरि पहाडका टाकुराको मनोरम दृश्य र वनस्पतिको जङ्गल । कालीगण्डकी नदीको खोंच भएर पोखरा–जोमसोम र जोमसोम–पोखरा हवाईजहाज उडिरहन्छ ।

एकाबिहानै हिमालमा पर्ने घामको पहिलो झुल्को । त्यही झुल्कोका किरणको दृश्यले मनलाई थप रोमाञ्चक बनाइदिन्छ । ग्रामीण बस्तीको सौन्दर्यतासहित वरपरका डाँडाकाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध भएर फर्कन्छन् । हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकन गर्न पाइने म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य पुनहिल र घोरेपानी नपुग्ने सायदै कम होलान् ।

हिउँ खेल्न र फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुन्छन् । मंसिरदेखि फागुनसम्म पर्ने सेताम्य हिउँ अनि चैतदेखि जेठसम्म यहाँको वनङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याइरहन्छ । एकपटक पुगेको जो कोही व्यक्ति पनि पटकपटक जाने गर्दछन् पुनहिल र घाेरेपानी । मगर समुदायको कला, संस्कृति र भेषभूषाको अध्ययन तथा स्थानीय (लोकल) खानाको स्वाद चाख्न पाइनुका साथै तरेली परेका पहाडको सुन्दरता नियाल्न पाइने म्याग्दीको घोरेपानी र पुनहिलको शब्दमा बयान गर्न सकिदैन ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा पर्ने जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्र पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । घोरेपानीमा आधुनिक सुविधासम्पन्न होटल तथा लजको स्थापना, त्यहाँसम्म पुग्ने सडक र पदमार्ग निर्माण, सुन्दर, शान्त र मनोरम वातावरणले गर्दा पर्यटकको उपस्थिति बढ्दै जान थालेको हो ।

बेलुका घोरेपानी पुगेर बास बस्ने र बिहान मिर्मिरे उज्यालो नहुँदै उठेर पुनहिलतर्फ पाइला बढाउँदा आनन्द लाग्छ । घोरेपानी र पुनहिलको बीचमा पर्ने चैत, बैशाखको राताम्य लालीगुराँसले उकालो–ओरालो गर्दा लागेको थकान बिर्साइदिन्छ । बिहानको समयमा मर्निङ वाक गर्दै पुनहिलको डाँडातर्फ जान पाउँदा मन त्यसै फुरुङ्ग हुन्छ । वरिपरिको दृश्यहरु धित मरुन्जेल हेर्न पाइन्छ । पुनहिलको डाँडामा पुगेर पाइला रोक्दै हिमालचुली र सूर्यले लाली भर्दै गरेको दृश्यले उकालो चढ्दा लागेको थकाई हराएको पत्तो पाइँदैन ।

पुनहिल–घोरेपानी क्षेत्र आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । एकपटक पुगेका पर्यटकहरुलाई यस क्षेत्रले पटकपटक बोलाइरहन्छ, लोभ्याइरहन्छ र पछ्याइरहन्छ । काठमाण्डौदेखि म्याग्दीको घोरेपानी र पुनहिलको भ्रमणमा निस्कनुभएका आन्तरिक पर्यटक राजेन्द्र अधिकारीले यो क्षेत्र निकै सुन्दर रहेको वर्णन गर्नुभयो । उहाँले जीवनमा एकपटक मात्र नभइ पटकपटक पुनहिल र घोरेपानीको भ्रमण गर्न सकिने बताउँदै यहाँको मनमोहक दृश्यले आफूलाई निकै आनन्दको अनुभूति मिलेको अनुभव सुनाउनुभयो ।

के–के देखिन्छन् पुनहिलबाट ?

समुन्द्री सतहदेखि ३ हजार २ सय १० मिटरको उचाइमा पुनहिल पर्दछ । पुनहिलबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि, दशौं अग्लो चुचुरो अन्नपूर्णसहित माछापुच्छ्रे, नीलगिरी, मानपाथीलगायत दर्जन बढी हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । नजिकैबाट हिमाललाई आँखा नआउन्जेल हेर्न पाउनु पुनहिलको पर्यटक तान्ने मुख्य विशेषता हो ।

यसका साथै बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त पनि यहाँबाट स्पष्टसँग देखिन्छ । पुनहिलको डिलबाट कालीगण्डकी नदीको खोंच हुँदै मुस्ताङ र पोखरा उडान भरिरहेको जहाजको दृश्य पर्यटकहरुका लागि अर्को आकर्षणको विशेषता हो । यसका साथै लालीगुराँसले ढकमक्क ढाकेको वनजङ्गल, विविध प्रकारका जडिबुटीका साथै लेकाली बस्ती र ग्रामीण सौन्दर्यतालाई नजिकबाट नियाल्न सकिन्छ ।

२२ वटा होटलहरु सञ्चालन

हिमाली जिल्ला म्याग्दीको भ्रमण गर्न आउने अधिकांश पर्यटकहरु पुनहिल र घोरेपानी पुग्छन् । बर्सेनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै जान थालेपछि घोरेपानीमा मात्रै २२ वटा साना तथा ठूला होटलहरु स्थापना भइ सञ्चालनमा छन् । अहिले घोरेपानी क्षेत्रमा सडक, खानेपानी, होमस्टेलगायत पूर्वाधारहरु बनिरहेका छन् ।

घोरेपानीमा आधुनिक सुविधासम्पन्न पर्यटकलक्षित होटलहरु रहेको पर्यटन व्यवसायी बलराम पुनले जानकारी दिनुभयो । त्यस्तै यहाँको भ्रमणमा आउने पर्यटकहरुको सुरक्षाका लागि घोरेपानीमा पर्यटक प्रहरीचौकी पनि स्थापना गरिएको छ ।

किन जाने पुनहिल र घोरेपानी ?

मानिसलाई गास, बास, कपास र रोजगारसहित मनोरञ्जन पनि चाहिन्छ । कतिपय मानिसहरु पदयात्रा गर्न रुचाउँछन् । यसका लागि पर्यटकीय गन्तव्यको आवश्यक पर्दछ । राउण्ड अन्नपूर्णअन्तर्गत पर्ने पुनहिल र घोरेपानी स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि गज्जबको गन्तव्य बनेको छ ।

घोरेपानी र पुनहिल क्षेत्रको भ्रमण गर्न पुग्ने पर्यटकहरुमध्ये अधिकांश बिदा मनाउन, घुमफिर गर्न, पदयात्रामा रमाउन, साथीभाइ, आफन्त र परिवारसँगै घुम्न जाने गरेका छन् । व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु रिफ्रेस हुनका लागि पर्यटकीय क्षेत्रको भ्रमण गर्न चाहन्छन् ।

समुन्द्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा घोरेपानी अवस्थित छ । पुनहिलमा पुगेपछि हिमालसँग टाँसिएर अनि पृष्ठभूमीमा पारेर फोटो, सेल्फी र भिडियो खिचेर रमाउन पाइन्छ । एकपटक यस ठाउँको भ्रमणमा पुगेका पर्यटकहरुलाई पुनः जाऔं–आऔं लाग्ने बनाउँछ । त्यसैले जो कसैलाई पनि जाऔं हिँड घुम्नलाई पुनहिल–घोरेपानी भन्दा फरक नपर्ला कि ?

कुन–कुन समयमा जाने घोरेपानी र पुनहिल ?

घोरेपानी र पुनहिलको भ्रमण गर्नका लागि जुनसुकै समय पनि उपयुक्त मानिन्छ । खासगरी पर्यटकहरु पर्यटकीय सिजनमा धेरै जाने गर्दछन् । यहाँको भ्रमण गर्न लालीगुराँस फुल्ने समय फागुनदेखि जेठ महिनामा पर्यटकहरु उल्लेख्य मात्रामा पुग्ने गरेका छन् ।

त्यस्तै असोजदेखि मंसिरसम्म पनि यहाँ पर्यटकहरु पुग्छन् । मंसिरदेखि फागुनसम्म घोरेपानी र पुनहिल क्षेत्रमा हिउँ पर्ने भएकाले पर्यटक हिउँसँग खेल्न रुचाउने हुँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको भ्रमणको रोजाइ घोरेपानी र पुनहिल पर्दछ । यहाँ प्रेमिल जोडी घुम्न तथा नव-विवाहित जोडीहरु पनि ‘हनिमुन’ मनाउनका लागि पुग्ने गरेका छन् ।

पदयात्रा गर्न रुचाउनेहरु पनि देशका विभिन्न ठाउँबाट घोरेपानी र पुनहिल क्षेत्रमा पुग्छन् । वर्षको जुनसुकै समयमा पनि घोरेपानी क्षेत्रमा पुगेर रमाउन सकिन्छ । पछिल्लो दुईवर्ष कोरोना भाइरसका कारण पर्यटक आगमन रोकिए पनि अहिले म्याग्दी जिल्लाको घोरेपानी, पुनहिललगायत पर्यटकीय क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकहरु भ्रमणमा पुगेका छन् ।

कहाँ–कहाँबाट आउँछन् पर्यटकहरु ?

विगतमा स्वदेशी पर्यटकहरुले बास पाउन मुस्किल हुने घोरेपानी क्षेत्रमा विगत केही वर्षयता स्वदेशी पर्यटकको बाहुल्यता बढ्दै जान थालेको छ । नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै पछिल्लोपटक देशका धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका क्षेत्रमा अत्यधिक मात्रामा स्वदेशी पर्यटकहरुको घुमफिर र चहलपहल बढेको पाइन्छ ।

अहिले पनि घोरेपानीमा विदेशीभन्दा स्वदेशी पर्यटकहरु धेरै जान्छन् । नेपाल सरकारले पर्यटन क्षेत्र उकास्नका लागि विभिन्न कार्यक्रमहरु ल्याउनु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनाले पनि नेपालका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटकको सङ्ख्या बढेको छ । घोरेपानी क्षेत्रमा म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु पुग्छन् ।

विदेशीको तुलनामा स्वदेशी पर्यटकहरुले खर्च धेरै गर्ने गरेको होटल व्यवसायीको भनाइ छ । म्याग्दीमा विदेशी पर्यटकहरु भारत, चीन, अमेरिका, जर्मन, फ्रान्स, ईटाली, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, मलेसिया र थाइल्याण्डबाट आउने गरेका छन् ।

कसरी पुगिन्छ घोरेपानी ?

पर्यटक आकर्षणको क्षेत्र घोरेपानी र पुनहिलको भ्रमण गर्नका लागि म्याग्दी, छिमेकी जिल्ला मुस्ताङ र कास्कीबाट पुग्न सकिन्छ । कास्कीको नयाँपुल–घान्द्रुक–घोरेपानी र नयाँपुल–उल्लेरी हुँदै घोरेपानी र पुनहिल पुगिन्छ । म्याग्दी सदरमुकाम बेनीबाट बेनी–जोमसोम सडक हुँदै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख भएर घोरेपानी पुगिन्छ ।

हिमालपारीको जिल्ला मुस्ताङको जोमसोमबाट लेते–घाँसा हुँदै म्याग्दीको दाना र भूरुङ–तातोपानी आएर पनि घोरेपानी जान सकिन्छ । बेलुका घोरेपानीका होटलमा बास बसेर बिहान पुनहिल पुगेर त्यहाँबाट महरेडाँडा–नागी–राम्चे–काफलडाँडा र पुनहिल–फुलबारी–राम्चे–काफलडाँडा हुँदै बैंसरी झरेर बेनी फर्कन सकिन्छ । पदयात्रा गर्न रुचाउनेका लागि यो रुट उपयुक्त हुन सक्छ भने म्याग्दीको बेनीबाट गाडीमा पनि घोरेपानी पुगेर रमाएपछि आ–आफ्नो गन्तव्यमा फर्कन सकिन्छ । ujjaloonline.com

Leave a Reply