बेनी–जोमसोम सडक अन्तरगतम्याग्दीको गलेश्वरस्थित राघुगंगा नदीमाथि पक्की पुल निर्माण गरिएको छ । कालिगण्डकी करिडोर सडक आयोजनाले बेनीनगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो ।

४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए पनि रङगरोगन र पहुँचमार्गको कामलाई पूर्णता दिन बाँकी रहेको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी जेभीले वि.सं २०७४ असारमा ६ करोड २४ लाख तीन हजार ८ सय २५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको म्याद वि.सं २०७६ चैत २६ गते सकिएको थियो ।

सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदुर र आपूर्तिकर्तालाई भुक्तानी नगरी वि.सं २०७६ फागुनदेखि सम्पर्कविहीन बनेपछि वि.सं २०७७ मंसिरदेखि जिम्मा लिएका मूल ठेकेदार कम्पनी नै कार्यक्षेत्रमा फर्किएर अधुरो रहेको पुल निर्माण योजनालाई पूर्णता दिएका हुन् ।

सहायक ठेकेदारले अधकल्चो बनाएको पुल निर्माणमा कोरोना भाइरसको महामारी, बन्दाबन्दी, निषेधाज्ञा र बाढी पहिराका कारण ढिलाइ भएको गजुरमुखी निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । राहुघाटमा यसअघि निर्माण भएको बेलिब्रिज जीर्ण भएको कारण सवारी आवतजावतमा जोखिम मोल्नुपर्ने बाध्यता रहेको थियो ।

२०७७ असार २५ गते रघुगंगा नदीमा बाढीले गलेश्वरमा रहेको बेलिव्रिज भत्काउँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङसम्म आवतजावत बन्द हुँदा ब्यापार व्यवसायमा ठूलो नोक्सानी भोग्नुपरेकोे छ ।

बेलिब्रिजमा सामान बोकेका सवारीसाधन जोखिम मोलेर आवातजावात गर्नुपर्ने बाध्यता पक्की पुल निर्माणले सहज गराएको छ । पक्की पुल निर्माण भएपछि, रघुगंगा र अन्नपूर्णबासी र मुस्ताङबासीलाई सुरक्षित यात्रा गर्न सहयोग पुगेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । रघुगंगा र अन्नपुर्ण गाउँपालिकाको सिमान मोहरेभीरमा पनि कालिगण्डकी नदीमाथि पक्की पुल निर्माण भएको छ ।

Leave a Reply