पछिल्लो समय म्याग्दीका ग्रामीण भेगमा खनिएका साँघुरा सडकमा दुर्घटना हुने क्रम रोकिएको छैन । मापदण्ड पूरा नगरिकन विस्तार गरिएका साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु र सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति कारण दुर्घटना जोखिम कायम छ ।

ग्रामीण सडकमा विभिन्न समयमा हुने अकस्मात सवारी दुर्घटनाका घाइतेलाई ल्याउन घटनास्थलमा पुग्न नसक्ने अवस्थामा एम्बुलेन्स पुगेका छन् । मंसिर १३ गते रघुगंगा गाउँपालिका–१ बेगको घाप्तामा बोलेरो जीप दुर्घटनामा घाइतेलाई ल्याउन घटनास्थलमा नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्स पुग्न सकेन ।

घटनास्थलमा पुगेको अर्को स्थानीय रुटमा चल्ने जीपमा घाइतेलाई हालेर बेखखोलासम्म लिएर त्यहाँबाट घाइतेलाई एम्बुलेन्सले बेनी अस्पतालमा ल्याएको चालकले बताए । जिल्लामा बेनी अस्पताल, मालिका, अन्नपूर्ण गाउँपालिका र रेडक्रससहितको चारवटा एम्बुलेन्स रहेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

बेनीपोखरा, बेनी र दरवाङ, बेनी, दानासम्मबाहेक ग्रामीण बस्तीमा पुग्न एम्बुलेन्सलाई कठिन छ । विगतका विभिन्न समयमा भएका सवारी दुर्घटनामा स्थानीय बोलेरो, जीप, ट्याक्सी र हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ । अस्पताल र रेडक्रसले सञ्चालन गरेको विरामी बेनीबाट पोखरासम्मका अस्पतालमा विभिन्न रोगका विरामीलाई ल्याउन ब्यस्त हुन्छन् ।

मंसिर १३ गते सोमबार साँझपख म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा बेनीबाट बेग जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जिप घाप्पा औलको उकालो मोड नपुग्दै घुम्तीबाट दुई सय मिटरभन्दा तल खस्दा चारजनाको ज्यान गयो । उक्त दुर्घटनामा परेर बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, जिपका चालक दूतबहादुर थापा र वडा सदस्य गौमाया विश्वकर्माको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका चार जनालाई बेनी अस्पतालमा उपचार गरि अहिले पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक कार्यालय म्याग्दी प्रमुख इन्द्रबहादुर नेपालीले साँघुरो र घुम्ती नपुगेको सडकमा उकालोमा जाँदै गरेको बोलेरो जिपलाई घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

जिल्लामा विस्तार भएका ग्रामीण सडक अधिकाँश मापदण्डविपरीत विस्तार भएका छन् । प्राविधिक सर्वे विना डोजर चालकको भरमा मापदण्ड पूरा नगरिकन विस्तार भएका सडक जीर्ण, साँघुरा र ग्रेड नमिलेका सडकमा सवारी चालकको लापरबाहीले विभिन्न समयमा दुर्घटना हुने गरेको कार्यालय प्रमुख नेपालीले जानकारी दिए । जिल्लामा हरेक वर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो छ ।

यस आर्थिक वर्षको मंसिर १५ गतेसम्ममा जिल्लामा पाँचवटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भइसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०७५/०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुई जनाको ज्यान गएको थियो । त्यसैगरी आव २०७६/०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १२ वटा सवारी दुर्घटना भएका थिए भने आठजनाको मृत्यु भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटनालाई कम गर्न चुनौती थपिएको उनको भनाइ छ । एक नगरपालिका र पाँच गाउँपालिकामा रहेका ४५ वटा वडामध्ये जिल्लामा धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य सबै वडामा कच्ची सडक सञ्जालले जोडिएको छ । जिल्लाभर हालसम्म ५ सय ७२ किलोमिटर बढी कच्ची सडक विस्तार भइसकेको छ भने जिल्लाभरमा जम्मा नौ किलोमिटर सडकमात्रै कालोपत्रे गरिएको छ । कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले सडक र एम्बुलेन्सका विषयमा राजनीतिक दल र जनप्रतिनिधिले सोच्नुपर्ने देखिएको बताए ।

कच्ची रूपमा विस्तार भएका अधिकाँश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् । अधिकाँश ग्रामीण सडकमा बिरामी लिन एम्बुलेन्स पुग्नसक्ने अवस्था छैन । दोहोरो वारपार गर्न समेत मुस्किल पर्ने सडकको स्तरोन्नतिमा प्रभावकारी योजना सञ्चालन हुन सकिरहेका छैनन् ।

हरेक स्थानीय तहको बजेट सडकलाई नै पहिलो प्राथमिकता राखेर खर्च हुने भए पनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ ।सडक मर्मत र स्तरोन्नतिको काममा जनप्रतिनिधि स्वयंका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पूरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हालेजस्तै बनेको छ । यो समाचार कारोबार राष्ट्रिय दैनिकका लागि धिरन खत्रीले लेखेका छन् ।

Leave a Reply