म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित माउन्ट एभरेष्ट आवासीय माध्यामिक बिद्यालयमा जुनियर डिभिजन ४७औँ व्याच एनसीसी क्याडेट तालिम सुरु भएको छ । राष्ट्रिय सेवा दलद्वारा संचालित तालिमको आइतवार विद्यालय प्राङ्गणमा प्रथम प्रवचन कार्यक्रमको आयोजना गरी जुनियर क्याडेटको तालिम सुरु गरिएको हो ।

तालिम अवधिभर विद्यार्थीको अनुशासन, लगनशिलता, कला तथा प्रतिभाको विकास, बक्तृत्वकला, खुकुरी ब्रिलिङ, परेट, व्याख्या गर्ने कला, सांस्कृतिक जागरण लगायतका विषयमा तालिम दिइने शत्रु भञ्जङ्ग गुल्म अर्थुङ्गेका मेजर केशव सिलवालले बताउनुभयो । आगामी पौष २९ गतेसम्म ४१ दिन प्रत्येक दिनमा दुई घण्टा सञ्चालन हुने तालिममा विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जनाको सहभागिता रहने विद्यालयका प्रिन्सिपल राजु केसीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले आर्मीमा जस्तो नेतृत्वले दिएको निर्देशन सबैले मान्ने प्रचलन देशमा नभएकाले देशको नीति नियम कमजोर भएको बताउनुभयो ।

उहाँले नैतिकता र अनुशासनको पाठ सिकाउने यस्ता खालका तालिमहरुको महत्वपूर्ण भूमिका हुने भएकाले कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । विद्यालयका प्रिन्सिपल केसीले अनुशासन नै विद्यार्थीको गहना भएकाले सबैले पालना गर्नुपर्ने बताउँदै ४७औँ व्याचको तालिमका लागि माउन्ट एभरेष्टलाई नै रोजेकोमा धन्यवादज्ञापन गर्नुभयो ।

यसअघि जिल्लाको जामुनाखर्क मावि, प्रकाश मावि र बेनी सामुदायिक माविमा तालिम सम्पन्न भैसकेको छ भने अघिल्लो वर्ष ४६औँ व्याच पनि माउन्ट एभरेष्टमै सञ्चालन गरिएको थियो ।

पौष २९ पछिको तालिम एनसीसीको केन्द्रीय कार्यालय चितवनको हात्तीखोरमा १५ दिन सञ्चालन हुनेछ । कक्षा १० का छात्रा सहकप्तान बबिता पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राई, विद्यालयका सञ्चालक रमेश गिरी लगायतको उपस्थिति रहेको थियो भने विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply