नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको एक टोली म्याग्दीको आर्कषक पर्यटकीय गन्तब्य टोड्के पुगेको छ । नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघसँगको सहकार्यमा टोड्केलाई आन्तरिक तथा बाह्य पर्यटकको पहुँचमा पुर्याउन नाटाको नेतृत्वमा जम्बो टोली सोमबार टोड्के प्रस्थान गरेको हो ।

नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिक्देलले म्याग्दीमा रहेका नयाँ पर्यटकीय गन्तब्यको खोजीको पहिलो सूचीमा टोड्केलाई राखेर स्थलगत भ्रमण सहित आवश्यक पूर्वाधारको निरिक्षण गरी टोड्केको प्रर्वधनमा जुट्ने बताए ।

‘बेनी पर्यटकका लागि चौतारी हो,‘यहाँको सम्भावनाका बारेमा धेरै चर्चा भएको छ,‘घुम्नका लागि आवश्यक पूर्वाधारको अभावले नै बेनीमा पर्यटकलाई रोक्न सकिएको छैन’ अध्यक्ष सिक्देलले भने । उनले म्याग्दी पर्यटनको खानी भएपनि नयाँ गन्तब्यमा सोचेजस्तो पर्यटक पुग्ज नसकेको अवस्थामा नाटाले आवश्यक सहयोग गर्ने गरी भ्रमण गरिएको बताए ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले सोमबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष सिक्देलले बेनीमा आएका पर्यटकहरु मुस्ताङ जाने गरेको अवस्थामा अब जिल्लाभित्रैको नयाँ गन्तब्यसम्म लैजानुपर्ने बताए ।

पर्यटन बोर्ड मार्फत पूर्वाधार समेत विस्तार भइसकेको र पर्यटकलाई लोभ्याउन सक्ने टोड्के नयाँ गन्तब्य बन्न सक्ने अवस्थामा सरकारी र निजी संस्थामार्फत एकैपटक प्रर्बधनमा जुट्ने गरी भ्रमण गरेको जनाइएको छ । म्याग्दी उवासंघका प्रथम उपाध्यक्ष राजेश शाक्यले टोड्केको प्रचारप्रसार प्राथमिकतामा परेको बताए ।

उनले टोड्के हुदै मालिकाधुरी तथा धौलागिरी सेञ्चुरी पदमार्गमा रमाउने पर्यटकलाई नाटाले पर्यटन बोर्डसँग हातेमालो गरेको बताए । भ्रमण टोलीमा पर्यटन बोर्डका प्रबन्ध निर्देशक नविन खरेल लगायत गण्डकी प्रदेश पर्यटन मन्त्रालयका कर्मचारी सहित पर्यटन ब्यवसायी छन् ।

टोड्केलाई गण्डकी प्रदेशको एक सुन्दर र उत्कृष्ट गन्तब्य बनाउन म्याग्दीका पर्यटन ब्यवसायी र निजी क्षेत्रले समेत सघाउने प्रतिबद्धता जनाएपछि पोखराबाट आएको टोली उत्साहित भएको छ ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) मा अवस्थित टोड्के प्राकृतिको अनुपम उपहार, स्वर्गद्धारीको शाखा आश्रम, मनोरम दृष्यावलोकनको हिसाबले महत्वपूर्ण सम्भावना बोकेको छ।

धौलागिरी, अन्नपूर्ण सहित दर्जन हिमश्रृंखला सहितको गन्तब्य देखिने टोड्केमा सुविधासम्पन्न रिर्सोट समेत छ । टोड्केमा रहेको स्वर्गाश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन् ।

टोड्केलाई गण्डकी प्रदेशकै सुन्दर पर्यटकीय गन्तब्य बनाउने अभियानमा स्थानीय सरोकारवाला सक्रिय भएका छन् । टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता जनाएपनि प्रगति करिब सुन्य छ ।

Leave a Reply