पश्चिम म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाटको दरवाङ्ग म्याग्दी जलविद्युत आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । प्रवासीको म्याग्देलीको अगुवाइमा सुरू भएको आयोजना कोरोना भाइरस संक्रमणको कारण केही समय प्रभावित भएपनि हाल नियमित रुपमा आयोजनाको काम भइरहेको छ ।

हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको जलविद्युतको काम सन्तोषजनक रुपमा अगाडी बढेको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताए।

‘कोरोना कारण केही समय प्रभावित भयो, हामीले अहिलेको गतिमै काम गरेपनि निर्धारित समयमै सकिन्छ’ अध्यक्ष कुँवरले भने ।उनले ‘विदेशमा आर्जेको सीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको भएपनि आयोजना बनाउन प्रवासीसँगै स्वदेशी अनुभव र लगानी समेत मिसिएको बताए ।

उनले विसं २०७७ को बाढीपहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजनाको निर्माण कार्यमा असर पारेको भएपनि हाल कामको प्रगतीमा सन्तुष्टि रहेको बताए। आयोजनाको आवासगृह, पहुँचमार्ग बनिसकेको छ भने अडिट सुरुङमार्ग ‘बाँध र विद्युत गृह निर्माण भइरहेको छ ।

मालिका गाउँपालिका–७ बिम र धौलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने गरी पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ। चारवटा अडिटबाट सुरुङको काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक हर्कमान घर्तीले बताए। उनले आयोजनाको कामका बारेमा स्थलगतरुपमै पुगेर समेत बुझ्न अनुरोध गरेका छन् ।

सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकका गरी रु तीन अर्ब ५० करोड ऋण लगानी समेत रहेको आयोजनाको कूल रु पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको छ । परियोजनामा एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दी ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहेको छ ।

दरबाङको माथि देविस्थानबाट ड्याम निर्माण गरी खोलाको पानीलाई ५ किमिलामो सुरुङ्ग मार्गबाट शश्रधारा नजिकको रातोढुङ्गामा पुर्याएर २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ। पावर हाउस र ईन्टेकसम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत १४ किलोमिटर लामो १३२ के.भि. ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोड्ने तयारी छ।

Leave a Reply