म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरू गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरु गरिएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताए ।

उनका अनुसार आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बन्ने छ। भवन निर्माणका लागि रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । रु छ करोड ८३ लाख ५० हजार ८० लागत अनुमान गरिएको थियो ।

विसं २०७८ वैशाख १७ गते सम्झौता गरेका ठेकेदारले जग्गा व्यवस्थापन सकेर भवन निर्माण सुरु गरेको र आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए । स्थानीयले एक करोडभन्दा बढीको जग्गा सहयोग गरेका थिए ।

दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गामध्ये नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाउँपालिकालाई अस्पताल निर्माण गर्न गत आर्थिक वर्ष २०७७–७८ मा रु ७० लाख पठाएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । यसअगाडी मंगला र धवलागिरी गाउँपालिकाले समेत अस्पतालको निर्माणकार्य सुरु गरेका छन् भने रघुगंगा गापाको समेत जग्गा ब्यवस्थापन भइसकेको छ ।

Leave a Reply