म्याग्दीको सदरमुकाम बेनीबजारको पुस्तकालय चोक नजिकै रहेका सार्वजनिक शौचालय डेढ दशकदेखि बन्द अवस्थामा छ । सर्वसाधारणको प्रयोगका लागि बनाइएको शौचालय प्रयोगविहिन हुदाँ सर्वसाधारणले दैनिक सास्ती खेप्नुपर्छ। जिल्लाको प्रमुख प्रशासनिक कार्यालयमा आउनेसर्वसाधारणले शौचालयको अभावमा सरकारी कार्यालय तथा सर्वसाधारणको घर खोज्दै जानुपर्ने परेको छ।

प्रयोगविहिन अवस्थामा रहेका दुई शौचालयको मर्मत गरेमा तत्काल सञ्चालन गर्न सकिने अवस्था रहेपनि बेनी नगरपालिकाले प्राथमिकतामा नपर्दा समस्या भएको नजिकै ठेला तथा टंकी ब्यवसायीको भनाई छ ।

‘यहाँ यात्रुले दुख पाएका छन्,‘हामीले पनि पसल नै छोडेर शौचका लागि टाढा जानुपर्छ’ एक ब्यापारीले भने । तत्कालिन अर्थुङे गाविसले बनाएको शौचालयको मर्मत तथा नियमित सञ्चालन गर्न नसक्नु लज्जाको विषय बनेको सर्वसाधारण बताउँछन् ।

बेनी सामुदायिक माविको अगाडी रहेको शौचालय शौचालय प्रयोगमा आए पश्चिम म्याग्दीका साथै पाखापानी क्षेत्रबाट सडक सञ्जालको प्रयोग गरी आवतजावत गर्ने यात्रुले धेरै राहत हुने भन्दै पटकपटक सञ्चालन गर्न गरिएको अनुरोधलाई समेत बेवास्ता गर्ने गरिएको छ ।

बेनीबजार भित्र कालिपुल बसपार्क, बहुउद्देश्यीय मैदानको कृषि उपज केन्द्रको टहरामा बनाइएको शौचालय समेत छिनै नसक्ने अवस्थामा छन्।बाहिरी जिल्लाबाट आएका यात्रुले विभिन्न स्थानमा यात्रा गर्दा शौचालय नभेट्दा सास्ती भोगेको बताउने गरेका छन्। मापदण्ड अनुसारका शौचालय सञ्चालनमा नगरपालिकाले समेत चासो देखाएको छैन्।

यता बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले आगामी कार्यापालिका बैठकमा शौचालय सञ्चालनका बारेमा छलफल हुने बताए। नगर क्षेत्रभित्र सार्वजनिक शौचालय र स्वाच्छ खानेपानीको ब्यवस्था गर्न प्रतिबद्ध रहेको ढकालको भनाई छ ।

सदरमुकाम बेनीबजार भित्र कम्तीमा ब्यवस्थित ३ वटा सार्वजनिक शौचालय आवश्यकता रहेको यसअगाडी नगरपालिका भित्र आयोजित सरसफाई तथा बजार ब्यवस्थापन सम्बन्धित विभिन्न कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिले समेत जोड दिएका छन् । नगरपालिकाले बन्द अवस्थामा रहेको सार्वजनिक शौचालय खोल्न चासो नदिने तर आसपासका क्षेत्रमा रहेको खाली ठाउँ भाडामा दिएर आम्दानी गर्ने गरेको भन्दै सरोकारवाला निकायले आक्रोश समेत पोख्ने गरेका छन् । यो समाचार बेनी साप्ताहिक समाचारपत्रमा प्रकाशित भएको छ ।

Leave a Reply