विद्यालयस्तरमा निकै लोकप्रिय जेसिजकप फुटबल प्रतियोगिताको १९ औ संस्करण मंगलबार उद्घाटन भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले गर्नुभएको छ । जिल्लाको फुटबल क्षेत्रको विकासमा जेसीज कपको भूमिका महत्वपूर्ण रहेको बताउँदै नगरप्रमुख श्रेष्ठले खेलकुद विकासमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले अनुशासन र शारिरिक स्फुर्तिका लागि खेलकुद उपयुक्त माध्यम भएको बताउनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।  प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक बानियाँले बताउनुभयो ।

उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनको लागि रु ८ लाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ । गत बर्ष कोरोना (भाइरस)को जोखिमका कारण प्रतियोगिता सञ्चालन भएको थिएन् । जेसीजकप फुटवल म्याग्दीमा चर्चित फुटवल प्रतियोगिता मानिन्छ ।

सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक, होटल याक र नमस्ते टेड टाइटल स्पोन्सर बनेका छन् ।म्याग्दी जेसीजका शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षता, महासचिब दिनेश बिश्वकर्माको सञ्चालन र प्रतियोगिता संयोजक कुमार बानियाको स्वागतमा भएको कार्यक्रममा जेसिजकपको नयाँ ट्रफि सार्वजनिक गरिएको थियो ।

Leave a Reply