गएको मंसिर १३ गते सोमबार साँझपख म्याग्दीको सदरमुकाम बेनीबजारबाट रघुगंगा गाउँपालिका–१ बेगखोला जाँदै गरेको बोलेरो जिप औलको उकालोको घुम्तीबाट दुई सय मिटरभन्दा तल खस्दा चारजनाको ज्यान गयो। दुर्घटनामा सवारी चालक दुतबहादुर थापा, वडा सदस्य गौमायाँ विश्वकर्मा,स्थानीय खिम पुन, खिमानन्द शर्माले गन्तव्यतर्फ यात्रा अधुरै र¥यो ।दुर्घटनामा सवार अन्य चार यात्रुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

सवारीचालक थापा बेग रूटमा नियमित यात्रु बोक्ने अनुभवी चालकको रुपमा चिन्ने गरिन्थ्यो। साँघुरो र अप्ठ्यारो सडकमा घुम्ती नपुगेको कारण उकालोमा जाँदै गरेको अवस्थामा घुम्तीबाट पछि सर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

विगत डेढ दशक यता म्याग्दी भित्र घटेको सडक दुर्घटनाको प्रमुख कारण कच्ची सडकको कमजोर संरचना, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, मालवाहक सवारीमा पनि कोचाकोच यात्रा,पुराना सवारीको प्रयोग, समयमा मर्मत र परीक्षण नगरी कमाउने लोभमा मात्र सवारीसाधन सञ्चालन लगायत पर्छन्।

जिल्ला भित्रको मुख्य र ग्रामिण सडकमा अत्यधिक गति, सिकारू चालक सहित ट्राफिक नियमको बेवास्ताले समेत यात्रुले अकालमै मृत्युबरण गर्नुपरेको छ । दुर्घटनामा चालक र कच्ची सडकलाई प्रमुख कारण मान्ने गरिएपनि प्रयोगकर्ताको कमजोरीका कारण पनि यस्ता दुर्घटना निम्तिने गरेको छ । एक नगरपालिकार पाँच गाउँपालिकामा रहेका ४५ वटा वडामध्ये जिल्लामा धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य सबै वडामा कच्ची सडक सञ्जालले जोडिएको छ ।

जिल्लाभर हालसम्म ५ सय ७२ किलोमिटर बढी कच्ची सडक विस्तार भइसकेको छ भने जिल्लाभरमा जम्मा नौ किलोमिटर सडकमा पनि मुस्किलले कालोपत्रे गरिएको छ । यस आर्थिक वर्षको मंसिर १५ गतेसम्ममा जिल्लामा पाँचवटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भइसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०७५÷०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुई जनाको ज्यान गएको थियो ।

त्यसैगरी आव २०७६÷०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा १२ वटा सवारी दुर्घटना भएका थिए भने आठजनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । संघीयता कार्यान्वयनमा आएसँगै म्याग्दीका गाउँ–गाउँसम्म सडक पु¥याउने प्रतिस्पर्धा छ। विकासको नाममा बिनाप्राविधिक सर्वेक्षण डोजर चालकले हेरेको भरमा खनिएका सडकमा नै धेरै दुर्घटना हुने गरेको छ ।

सम्बन्धित सरकारी निकायले प्रभावकारी अनुगमन गरी नियमभन्दा बाहिर गएर सवारीसाधन चलाउनेलाई कडाभन्दा कडा कारबाहीमा समेत बेवास्ता हुने गरेको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरूमा सडक दुर्घटनाको यो विकराल अवस्थाले खासै छोएको देखिँदैन । सीमित ट्राफिक प्रहरीलाई सहरमै सवारी व्यवस्थापन गर्न हम्मे अवस्थामा अब सरोकारवाला निकाय, स्थानीय तहले सडक दुर्घटना न्यूनीकरणलाई नागरिकको सुरक्षासँग जोडेर विशेष योजना बनाउनुको विकल्प छैन् ।

म्याग्दीमा ठूलो सडक दुर्घटना भएपछि सामान्य चर्चाको विषय बन्ने र पछि त्यसै सेलाउने गरेकाले मानवअधिकारकर्मी सहित सरोकारवाला निकायले समेत सडक दुर्घटना न्यून गर्न भूमिका खेल्नुपर्ने निकायमाथि दबाब दिनुपर्छ । होइन भने, दुर्घटनाले अझै विकराल र भयावह अवस्था ल्याउने निश्चित छ। बेनी साप्ताहिक समाचारपत्र

Leave a Reply