नेपालको एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो ।

झारल तोकिएको भन्दा तीनवटा कम र नाउर तोकिएको भन्दा एक वटा कम शिकार भएको हो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरेका रसियन नागरिक इभिजिनी सिरोक्यो शिकारको लागि नआएकाले शिकार हुन नसकेको हो । उनले हिमालयन वाइल्डआउट फिटरमार्फत शिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै शिकारको लागि नआएको सञ्चालक शेरबहादुर वाइबाले जानकारी दिए ।

उनले सुन दहमा एक नाउर र एक झारलको सिकार गर्ने अनुमति लिएका थिए । पहिलो शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे ।

तर, फागुने ब्लकमा एक झारलको सिकार गर्न उनीहरु चुकेको आरक्ष कार्यालयले जनाएको छ । हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको सिकार गरे । मेक्सिकन नागरिक कार्लाेसले सेन ब्लकमा एक नाउर शिकार गरेपनि झारलको शिकार गर्न सकेनन् ।

ट्याक एन्ड ट्राभल्सले दुई जना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गरेको आरक्षको तथ्यांक छ ।

ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुगेका स्पेनिस नागरिक जोएक्वाइन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

स्पेनिस नागरिक मुगलले पनि सोही ब्लकमा नाउरको सिकार गरेका थिए । चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए ।

ढोरपाटनमा सिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, बुर्तिबाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । हरेक वर्ष कात्तिक, मंसिर र चैत बैशाखमा पहिलो र दोस्रो यामको शिकार हुने गरेको छ । गतवर्ष कोरोना महामारीका कारण यहाँ शिकार पर्यटन प्रभावित भएको थियो । janamanch.com

Leave a Reply