म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईए जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरमा पुलाचौरका ७० जना महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी राख्ने तथा भिआईए जाँच गरिएको बेनी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । भिआईए जाँचका क्रममा ८ जना महिलाहरुको पाठेघर खस्ने समस्याको रिङपेसरी राखेर उपचार गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक लिला गौतमले जानकारी दिनुभयो ।

यसैगरी उक्त शिविरका क्रममा एकजना महिलामा भिआईए जाँच गर्दा पोजिटिभ देखिएकाले थप उपचारका लागि रिफर गरिएको स्वास्थ्य शाखा संयोजक गौतमले बताउनुभयो । महिलामा पाठेघर खस्ने रोगको बेनी अस्पताल म्याग्दीका स्त्रीरोग विशेषज्ञ डाक्टर साजना श्रेष्ठ र इन्डोर इन्चार्ज मनदेवी गौतमले उपचार गर्नुका साथै परामर्श सेवा दिनुभएको थियो । डा. श्रेष्ठले महिलाहरु पाठेघर खस्ने समस्याबाट बच्नका लागि समय समयमा पाठेघरको चेकजाँच गराउनुपर्ने तथा डाक्टरको सल्लाह, सुझावअनुसार उपचार गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नगरपालिकामार्फत सञ्चालित अपाङ्गता र ज्येष्ठनागरिक परिचयपत्र वितरण घुम्ती शिविरमा पुलाचौरका २ सय १५ जना ज्येष्ठनागरिक तथा अपाङ्गता भएका व्यक्तिहरु लाभान्वित भएका छन् । शिविरमा महिला तथा पुरुष गरी कुल २ सय ५ जनालाई ज्येष्ठनागरिक परिचयपत्र वितरण गरिएको छ । १ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको शिविरमा ९ जना अपाङ्गता भएका व्यक्तिहरु पहिचान भएका छन्भने उनीहरुलाई नगरपालिकाको कार्यालयमार्फत परिचयपत्र उपलब्ध गराइने जनाइएको छ ।

परिचयपत्र वितरण घुम्ती शिविरमा बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापा, महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षकहरु तुलसी पाईजा, डमसरा पुन र शिलु आलेमगरले सेवा प्रदान गर्नुभएको थियो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाभित्र ग्रामीण भेगका नागरिकहरुलाई वडा तहबाटै विभिन्न सेवाहरु उपलब्ध गराउन शिविरमार्फत आवश्यक पहल थालिएको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले जिल्लामा पुगेर प्राप्त गर्ने सेवा सुविधालाई गाउँबाटै सञ्चालन गर्न शिविर आयोजना गरिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले विभिन्न कारणले रोग लुकाएर गाउँमै बस्न बाध्य महिला दिदीबहिनीहरुलाई लक्षित गरेर आफ्नै गाउँ ठाउँमा सेवा लिन सहज वातावरण निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रम बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँको अध्यक्षता, बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापा र स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको स्वास्थ्य शिविरको पुलाचौर स्वास्थ्यचौकीले व्यवस्थापन गरेको थियो भने परिचयपत्र वितरण कार्यक्रमको पुलाचौर वडा कार्यालयले व्यवस्थापन गरेको थियो ।

Leave a Reply