१९ औ जेसिजकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासीय मावि सहित पाँच विद्यालय विजय भएका छन् ।

बुधबारदेखि सदरमुकाम बेनीको खुल्लामञ्चमा सुरू भएको प्रतियोगितामा बेष्ट पोइन्टले लिटल गार्डेन एकेडेमीलाई १–५ गोल प्रहार गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा वेष्ट पोइन्टका खेलाडीले खेल सुरु भएको केही मिनेटमै गोल प्रहार गरी अग्रता लिएको थियो ।

अर्को खेलमा माउण्ट एभरेष्ट आवासीय माविलाई बुद्ध एकेडेमीले २–३ गोल, डनिङ ईलिस बोर्डिङ बावियाचौरले सारदा मावि छिस्वाङलाई १ गोल, किसानी मावि धारापानीले किसानी मावि बिमलाई १–२ र अन्तिम खेलमा केबी एकेडेमी दरबाङले जामुनाखर्क माविलाई ०–३ गोल प्रहार गरेको थियो ।

विद्यालयस्तरमा निकै लोकप्रिय मानिने प्रतियोगितामा सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रबाट समेत यसबर्ष अपेक्षा गरेभन्दा धेरै विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा २१ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक, होटल याक र नमस्ते टेड टाइटल स्पोन्सर बनेको कार्यक्रम संयोजक कुमार बानियाँले बताउनुभयो । कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिता समेत सुनसान जस्तै बनेको अवस्थामा जेसीज कपले चहलपहल सुरु भएको छ ।

Leave a Reply