म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको पुख्र्यौली छन्त्याल भाषा सङ्कटमा परेको छ। छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा सिक्न र संरक्षण गर्न नसक्दा नासिने खतरा बढेको हो ।

बोलीचालीमा अत्यन्त कम प्रयोग गरिए पनि लिपि नपाइएको हुँदा छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीका ८३ वर्षीय युवबहादुर छन्त्यालले बताए। उनका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु र आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु तथा बसाइँसराइ जस्ता कारणले भाषा लोप भएको उनको भनाइ छ। “भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए, युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छाडेर विदेश वा सहरमा बसाइँ सरे, उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, छन्त्यालको बाहुल्यता रहेका गुर्जाका अगुवा कमल छन्त्यालले भने, “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”

नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० छन्त्याल समुदायको जनसङ्ख्या छ। छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा छन्। कुल छन्त्याल समुदायको सङ्ख्या मध्यम्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत छ ।

नेपाल छन्त्याल सङ्घ म्याग्दीका सचिव मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बसोबास रहेको छ। जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कूल जनसङ्ख्यामध्ये ३६.२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन्। छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । रासस

Leave a Reply