बेनी अनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड–२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा शुक्रबार पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो ।

एक दशक देखि म्याग्दी जिल्लामा रहेर आर्थिक, सामाजिक लगायत विविध पक्षमा कलम चलाइरहेका गौतमलाई संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक समाचारपत्रका प्रकाशक गौतम नागरिक दैनिक र ढोरपाटन दैनिक लगायतका सञ्चार माध्यममा आवद्ध छन् । सम्मानित भएका पत्रकार गौतमले आफुँले प्राप्त गरेको पुरस्कारको रकम म्याग्दीका विपन्न बालबालिकाको शिक्षादीक्षामा सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले बताए । रु. दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । प्रत्येक बर्ष दश प्रतिशतका दरले पुरस्कारको राशी बढाउने गरिएको छ।

Leave a Reply