म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसमा अक्षयकोषमा पृथ्वीनारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख प्रा.डा. मिन पुनले १ लाख सहयोग गर्नुभएको छ । ५ करोडको अक्षय कोष स्थापनाथै क्याम्पसले सुरू गरेको आर्थिक सङ्कलन अभियानमा मंगला-१ तुसारेपानीका डा. पुनले ब्यक्तिगत रुपमा १ लाख गर्नुभएको हो ।

शुक्रबारदेपख क्याम्पसको सभाहलमा आयोजित अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी २ दिने कार्यशालाको सहजीकरण गर्न आउनुभएका मंगला माविका पूर्व विद्यार्थी तथा मंगला क्याम्पसका टियू प्रतिनिधि समेत रहनुभएका डा. पुनले अक्षय कोषमा आफ्नो पहलबाट थप ५० लाख जुटाउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

‘भावी सन्ततीका लागि सबैले सहयोग गर्नुहुनेछ,‘अक्षयकोषको ब्याजले समेत शैक्षिक गतिविधि सञ्चालनमा सहज हुन्छ’ प्रा डा. पुनले भन्नुभयो । उहाँले स्वदेश तथा विदेशमा रहेकाहरुबाट सहयोग जुटाएर क्याम्पसलाई नमुना बनाउन आफ्नो निरन्तर सहयोग रहने बताउनुभयो ।

‘विश्वविद्यालय सहित अन्य संघसंस्थाको अनुदानलाई समेत प्राथमिकता दिनुपर्छ्र,‘गाउँमा क्याम्पस हुदाँ शैक्षिक विकासमा ठूलो सफलता मिल्छ’ प्रा.डा पुनले भन्नुभयो । सहयोग घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका शैक्षिक गुणस्तर सुधार सहितका कार्यक्रममा समेत प्रा डा. पुनको ठूलो योगदान रहेको अवस्थामा प्राप्त आर्थिक सहयोगले समेत उत्साहित भएको बताउनुभयो ।

क्याम्पसले यसअगाडी नै यशुदा रोकाको संयोजकत्वमा पूर्वाधार आर्थिक सङ्कलन समिति गठन गरी सहयोग संकलन अभियानलाई तिब्रता दिएको छ । २ करोडको अक्षयकोषलाई बढाएर ५ करोड पुर्याउने निर्णय भएको क्याम्पसका प्रमुख पतिमबहादुर खत्रीले जानकारी दिनुभयो । मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो ।सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन सम्पन्न भइ सञ्चालनमा आएको छ भने थप पूर्वाधार समेत विस्तार गरिने छ ।

Leave a Reply