१९ औ जेसिजकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासीय मावि फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न भएको खेलमा वेष्ट पोइन्टले केबी एकेडेमी दरबाङलाई ०–३ गोल प्रहार गदैं फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा घरेलु मैदान, नियमित अभ्यास र चर्को हुटिङले समेत न्यू प्वाइन्टलाई साथ दिएको थियो ।

सदरमुकाम बाहिरबाट आएको टोलीमा केबी एकेडेमीले समेत निकै उत्कृष्ट खेल प्रर्दशन गरेपनि फाइनलसम्मको यात्रा तय गर्न भने असफल भएको छ । यता फाइनलका लागि अहिले बुद्ध एकेडेमी र किसानी मावि धारापानी बिच खेल भइरहेको छ । पहिलो हाफमा खेल भइरहेको अवस्थामा अहिलेसम्म दुबै पक्ष गोलरहित छन् ।

फाइनल खेल आइतबार विहान हुने आयोजकले जनाएको छ । बुधबारदेखि सदरमुकाम बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।विद्यालयस्तरमा निकै लोकप्रिय मानिने प्रतियोगितामा सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रबाट समेत यसबर्ष अपेक्षा गरेभन्दा धेरै विद्यालयले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक, होटल याक र नमस्ते टेड टाइटल स्पोन्सर बनेको कार्यक्रम संयोजक कुमार बानियाँले बताउनुभयो । कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिता समेत सुनसान जस्तै बनेको अवस्थामा जेसीज कपले चहलपहल सुरु भएको छ ।

Leave a Reply