एकीकृत समाजवादी पार्टी म्याग्दीले बेनी नगरपालिका भित्र संगठन विस्तार अभियान सुरु गरेको छ । पार्टीको सिद्धान्त र अभियानलाई जनताको घरदैलोमा लैजाने सुरु भएको संगठन विस्तार अन्तरगत बेनपा ६ मा महेन्द्र बानियाँको अध्यक्षतामा ५१ जनाको वाड कमिटी गठन गरिएको हो ।त्यसैगरी कमिटीको उपाध्यक्षमा दिलबहादुर बि.क, सचिवमा कमल पौडेल, उपसचिवमा पुष्पा विश्वकर्मा चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँले जटिल परिस्थितिपार गरेर नेकपा एकीकृत समाजवादी यहाँसम्म आईपुगेको बताउनुभयो । उहाँले पार्टी बिरुद्धको विभिन्न घेराहरु तोड्दै अगाडी बढेको बताउँदै जिल्लाका सबै पालिकाहरुमा संगठन विस्तारसँगै टोलटोलमा पुगेर पार्टीको स्थापना सहितको अभियानका बारेमा जानकारी गराउने बताउनुभयो ।
‘हाम्रो लक्ष्य भनेको समाजमा समाजवाद स्थापना गर्ने हाम्रो उदेश्य भएकोले समाजवाद स्थापना गर्नका लागि जुनसुकै संघर्ष गर्न पनि तयार छौं” जिल्ला इन्चार्ज बानियाँको भन्नुभयो ।
भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले दलित, जनजाति, महिला तथा पिछडिएका वर्गहरुका मुद्दाहरु बोक्ने पार्टी नै एकीकृत समाजवादी भएकोले सबैलाई समाजवादीमा गोलवद्ध हुन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष बानियाँले जिल्लाको निर्णायक शक्तिको रुपमा एकीकृत समाजवादीलाई बनाउने उद्घोष समेत गर्नुभयो ।
निर्वाचित सदस्यहरुलाई इन्चार्ज बानियाँले सपथग्रहण समेत गराउनु भएको थियो।जिल्ला इन्चार्ज मुना बानियाँको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको विशिष्ट आतिथ्यता सम्पन्न कार्यक्रमको स्वागत कमल पौडेल र संचालन हरिकृष्ण पौडेलले गर्नुभएको थियो ।