१९ औ जेसिजकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यू वेष्ट पोइन्ट आवासीय मावि र बुद्ध एकेडेमी प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्टले केबी एकेडेमी दरबाङलाई ०–३ गोल र बुद्ध एकेडेमीले किसानी माविलाई ०–२ गोल प्रहार गदैं फाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगितामा उपाधीको दाबेदार मानिएका केबी एकेडेमी दरबाङ र किसानी मावि धारापानीलाई पन्छाउँदै फाइनलमा प्रवेश गरेका दुबै टिमको खेल आइतबार बिहान हुने छ । जारी प्रतियोगितामा सदरमुकाम बाहिरको टिमले उपाधी जित्ने आँकलन गरिएपनि प्रतियोगितामा १८औं जेसीज कपका प्रतिस्पधी विद्यालय नै यसपटक पनि फाइनल खेल्ने भएका छन् ।

अघिल्लो पटकको जेसीज कपमा उपविजेता भएको बुद्ध एकेडेमीले यसपटक आफ्नो हारको बदला लिने तयारीमा छ भने न्यू वेष्ट प्वाइन्टले पाँचौ पटकको विजेता बन्ने तयारीमा छ। यसअगाडी न्यू वेष्ट प्वाइन्टले ४ पटक जेसीज कप जितिसकेको छ भने बुद्ध एकेडेमी दुईपटकसम्म फाइनलमा प्रवेश गरेपनि उपाधी आफ्नो पोल्टामा पार्न असफल भएको छ ।

निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा घरेलु मैदान, नियमित अभ्यास र चर्को हुटिङका बिच आइतबारको फाइनल हुने पक्का छ । दुबै बिद्यालयका सर्मथक तथा दर्शकको समेत बाख्लो उपस्थितिका बिच कोरोनाको पहिलो र दोस्रो लहरपछि खुल्लामञ्च खचाखच भरिने करिब निश्चित छ । बुधबारदेखि सदरमुकाम बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक, होटल याक र नमस्ते टेड टाइटल स्पोन्सर बनेको कार्यक्रम संयोजक कुमार बानियाँले बताउनुभयो । कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिता समेत सुनसान जस्तै बनेको अवस्थामा जेसीज कपले चहलपहल सुरु भएको छ ।

Leave a Reply