बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले अरूणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक गरेको छ। म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीको नेतृत्वमा नयाँ र अनुभवी खेलाडी टोलीमा छन् ।

कप्तान शाहीकै नेतृत्वमा डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले यसपटक समेत उपाधी जोगाउने गरी तयारी गरेको जनाइएको छ । डिसेम्बर २१ देखि २९ सम्म हुने प्रतियोगितमाा नेपालसहित माल्दिभ्स, श्रीलंका, आयोजक बंगलादेश, किर्गिस्तानले सहभागिता जनाउने बताइएको छ।

कप्तान शाहीले चार टोलीसँग यसअघिका खेलमा प्रतिस्पर्धा गरेकाले यो संस्करणमा अनुभवले काम गर्ने बताउनुभयो । ‘उपाधिलाई नै लक्ष्य बनाएर अभ्यास गरिरहेको छौ,‘हामीसँग यसअगाडी नखेलेकाहरुको खेलको आधारमा थप रणनीति बनाउँछौ’ शाहीले भन्नुभयो ।नयाँ र अनुभवी खेलाडी भएकाले राम्रो प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने शाहीको भनाई छ ।

शाहीको नेतृत्वमा रहेको महिला टोलीले २० बर्षपछि बल्ल अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जितेपछि नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा राम्रो प्रर्दशन गरेको थियो। कप्तान शाही खेलाडीमैत्री भएकाले समेत सहकर्मीले रुचाउने गरेका छन् । शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएको थियो ।

 

 

Leave a Reply