म्याग्दीका पर्यटकीय स्थलहरूमा पछिल्लो समय पूर्वाधार निर्माण र प्रचारप्रसारले तीव्रता पाएपछि पर्यटक आगमन पनि बढ्दै गएको छ । जिल्लाका बेनी नगरपालिकाको ऐतिहासिक ज्यामरुककोट, पुलाचौर, पछै, सिंगातातोपानी, मालिका गाउँपालिकाको देवीस्थान, मगंला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरालगायतका पर्यटकीय स्थलहरूमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् ।

पछिल्लो समय पर्यटकीय स्थलका रूपमा विकास भएको म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको पर्यटीय स्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित दुई लाख रुपैयाँ र स्थानीयवासीको ५० हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रविन्द्र राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार देवीस्थानको हाँसखोलादेखि गाईखर्कसम्मका लागि ७५० मिटर सडक निर्माण गरिएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्र्धन गर्न सडक सञ्जालले जोड्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष पिपला बुढाथोकी मगरले बताउनुभयो । तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयबाट बजेट विनियोजन गरी मन्दिर निर्माणकार्य सुरु भएको वडाध्यक्ष बुढाथोकी मगरले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूमा पर्यटकको सेवासुविधालगायत अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाभित्र रहेका हरेक पर्यटकीय स्थलहरूको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले ठूलो आर्थिक लगानी गरेको बताउनुभयो । पछिल्लो समय आन्तरिक तथा बाहृय पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुईवटा होमस्टे सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी बेनी नगरपालिका-२ ज्यामरुककोटको ऐतिहासिक स्थल खड्गभवानी कोत परिसरलाई पर्यटकीय स्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४८६ रुपैयाँ र उपभोक्ताको तीन लाख ६५ हजार ५९९ रुपैयाँ बराबरको श्रमदानबाट २५० मिटर पदमार्ग निर्माण गरिएको हो ।

सिमेन्ट ढलानसहितको सिँढी निर्माण गरिएको छ । पदमार्गको एक सय ९० मिटरमा दुवैतर्फ रेलिङ हालेर पदमार्गलाई व्यवस्थित पारिएको छ । २५ मिटर कठिन पहरालाई फुटाएर दुई मिटर फराकिलो पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले बताउनुभयो । ढिलो गरी बजेट प्राप्त भए पनि स्थानीयवासीको सक्रियताका कारण छोटो समयमा पदमार्ग बनाउन सफल भएको उहाँले जानकारी दिनुभयो ।

गत जेठ १३ गते सुरु भएको पदमार्ग असार ८ गते सम्पन्न भएको अध्यक्ष विकले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि कोतमन्दिरमा पुग्न सहज भएको उहाँले बताउनुभयो । ऐतिहासिक ज्यामरुककोट मन्दिरमा पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा जोड दिएको वडाध्यक्ष हिराबहादुर थापाको भनाइ छ ।

चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २५० मिटर, गत वर्ष पर्यटन बोर्डको दुई लाख रुपैयाँमा ५६ मिटर र बेनी नगरपालिकाको चार लाखमा ७६ मिटर गरी हालसम्म ३८२ मिटर पदमार्ग निर्माण भएको वडाध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार गाउँदेखि कोट मन्दिरसम्म पुग्ने पदमार्ग सम्पन्न भएको छ । पदमार्गको केही भागमा रेलिङ राख्न बाँकी छ ।

ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो । मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनहरूलाई गलेश्वर हुँदै ज्यामरुककोट र यहाँदेखि बागलुङको पञ्चकोट पु¥याउन सकेमा पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

खड्गभवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छे«, गुर्जा चुरेनलगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँहरू, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ ।

Leave a Reply