म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा शनिबार महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईए जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरमा ज्यामरुककोटका ९९ जना महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी राख्ने तथा भिआईए जाँच गरिएको बेनी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । भिआईए जाँचका क्रममा ५ जना महिलाहरुको पाठेघर खस्ने समस्याको रिङपेसरी राखेर उपचार गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक लिला गौतमले जानकारी दिनुभयो ।

यसैगरी उक्त शिविरका क्रममा ३ जना महिलामा भिआईए जाँच गर्दा पोजिटिभ देखिएकाले थप उपचारका लागि बेनी अस्पताल म्याग्दीमा रिफर गरिएको स्वास्थ्य शाखा संयोजक गौतमले बताउनुभयो । महिलामा पाठेघर खस्ने रोगको बेनी अस्पताल म्याग्दीका क्लिनीकल कोअर्डिनेटर डाक्टर पवनकुमार शाह, इन्डोर इन्चार्ज मनदेवी गौतम र सिनियर अनमी रुबिना थापाले उपचार गर्नुका साथै परामर्श सेवा दिनुभएको थियो । महिलाहरु पाठेघर खस्ने समस्याबाट बच्नका लागि समय समयमा पाठेघरको चेकजाँच गराउनुपर्ने तथा डाक्टरको सल्लाह, सुझावअनुसार उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले जिल्लामा पुगेर प्राप्त गर्ने सेवा सुविधालाई गाउँबाटै सञ्चालन गर्न शिविर आयोजना गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले विभिन्न कारणले रोग लुकाएर गाउँमै बस्न बाध्य महिला दिदीबहिनीहरुलाई लक्षित गरेर आफ्नै गाउँ ठाउँमा सेवा लिन सहज वातावरण निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रम बेनी नगरपालिका–२, ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता, बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लिला गौतमले स्वागतसहित शिविरको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सहसंयोजक डिल्लीराज आचार्यले गर्नुभएको थियो ।

Leave a Reply