स्वर्गद्वारी आश्रमको शाखा रहेको म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा धार्मिक पर्यटक बढाउन तयारी थालिएको छ। पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि टोड्केमा धार्मिक पर्यटन वृद्धि गर्न धर्मशाला र यज्ञशाला बनाउन लागिएको हो ।

जिल्लाको तीनवटा स्थानीय तहको सङ्गमस्थलमा अवस्थित पर्यटकीय क्षेत्र टोड्केमा धार्मिक पर्यटनको पनि सम्भावनायुक्त छ। स्वर्गद्वारी आश्रमको शाखा रहेको टोड्केमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित आवश्यक संरचना निर्माण गरेर पर्यटन आगमन र आकर्षण बढाउन लागिएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केमा यसअघि गौशाला र मन्दिर बनाइएको छ भने धर्मशाला तथा यज्ञशाला बनाइने भएको छ ।

टोड्केमा स्वर्गद्वारी महाप्रभु शिवको मन्दिर समेत रहेको छ। टोड्केमा पर्यटक आगमन बढाउन झीँ गाउँबाट पदमार्ग निर्माण र सडकको स्तरोन्नति, हरियाली पार्क र बहुउद्देश्यीय उचाइको खेलमैदान निर्माण गर्न लागिएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

टोड्केमा १९५२ अर्थात् १०८ वर्षभन्दा पहिलेदेखि नै स्वर्गदारी आश्रमको शाखा स्थापना गरिएको थियो । स्वर्गद्वारी आश्रमको मुख्य शाखा अहिले लुम्बिनी प्रदेशको प्युठान, दाङ र रोल्पाको सङ्गमस्थलमा पर्दछ । स्वर्गद्वारी आश्रमको लगानीमा टोड्केमा गौशाला बनाइएको छ ।

स्वर्गद्वारी महाप्रभुले पहिला स्वर्गद्वारीमा नुन खुवाउन भन्दै १ हजार ८ वटा गाई पालेको हुँदा टोड्केमा रहेको स्वर्गद्वारी आश्रममा पनि गाई पालिएको स्वर्गद्वारी महाप्रभुका भक्त रवीन्द्र शाहीले बताउनुभयो । अहिले टोड्केमा रहेको स्वर्गद्वारीको शाखा आश्रममा १० वटा गाई पालिएको छ भने त्यहाँ पुग्ने भक्तजनहरुले ल्याएको नुन, पीठो, दानालगायत खुवाएर गाईहरु पालिएको महाप्रभुका भक्त शाहीले जानकारी दिनुभयो ।

टोड्केमा छिमेकी मुलुक भारतसहित नेपालको विभिन्न जिल्लाहरुबाट भक्तजनहरु पुग्ने गरेका छन् । यहाँको मुख्य विशेषता भनेको पहिला स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको ठाउँ तथा अन्त्य पनि धौलागिरिमा भएकाले भक्तजनहरु टोड्केमा आउने गरेको भक्त शाहीको भनाइ छ ।

सप्तऋषिले तपस्या गरेको स्थान धौलागिरि हिमाललाई नजिकैबाट नियाल्न सकिने हुँदा टोड्केमा रहेको स्वर्गद्वारी आश्रमको शाखामा विभिन्न समयमा साधु, सन्तहरु पुगेर जप, ध्यान र तपस्या गर्ने गर्दछन् । स्वर्गद्वारी महाप्रभुको दर्शन तथा स्वर्गद्वारी पुग्न नसक्ने भक्तजनहरुका लागि टोड्के शाखामा महाप्रभुको मुर्तिहरु राखिएको भक्त शाहीले बताउनुभयो । ट।ेड्केमा पुग्ने धार्मिक तथा अन्य पर्यटकहरुले सप्तऋषि, स्वर्गद्वारी महाप्रभु, मालिका देवीलगायत सिद्धबाबा र अन्य देवी देवताहरुको दर्शन गर्न सक्छन् ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शनमा जाने भक्तजनहरुलाई टोड्केमा पनि जाने वातावरण बनाउन विभिन्न धार्मिक संरचनाहरु निर्माण थालिएको छ । टोड्केमा नेपालको अर्घाखाँची, दोलखा, काठमाडौं, चितवन, बाँके, प्युठान, सुर्खेत र दैलेख जिल्लाबाट प्रभुका भक्तहरु पुगेर तपस्या गर्दै आएका छन् । टोड्के क्षेत्रमा पहिला केही पनि संरचना नभएको अवस्थामा पछिल्लो समय सामुदायिक लज सञ्चालनसँगै धार्मिक संरचनाहरु थपिएपछि पर्यटकहरुको चहपहल बढेको स्थानीयवासी बताउँछन् ।

स्थानीय जातको ‘अर्गानिक’ मुला उत्पादन हुने तथा स्वर्गद्वारी आश्रमको शाखा रहेको टोड्केमा तीन वर्षअघि स्थानीयवासिन्दाको सामूहिक लगानीमा सामुदायिक लज निर्माण गरी सञ्चालनमा आएपछि टोड्के क्षेत्रमा पर्यटकको आगमन बढेको लजका सञ्चालक मोहन खत्रीले बताउनुभयो ।

Leave a Reply